काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले आज मन्त्रिपरिषद्ले सिफारिस गरेको दुई अध्यादेश जारी गरेकी छन् ।

राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको जनाएका छन् ।

आज दिउँसो मन्त्रिपरिषद् बैठकले यी दुवै अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।


यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा कम्तिमा ४० प्रतिशत बहुमत हुनुपर्ने कानुनी प्रावधान हटाएर दुईमध्ये एकमा बहुमत भए पुग्ने व्यवस्थासहित अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । त्यस्तै, संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या पाँच जनाबाट चार जनामा झार्ने अध्यादेश पनि मन्त्रिपरिषद्ले पारित गरेको थियो ।


प्रकाशित मितिः सोमबार, वैशाख ८, १९:४४