काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान गरेकी छन् ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी नेपाल वायु सेवा निगमको न्यारो बडी ए ३२० जहाजमार्फत ढाका प्रस्थान गरेकी हुन् ।

उनको आजै बंगलादेशका राष्ट्रपति हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ ।


त्यसैगरी भण्डारी समकक्षीले आयोगजना गर्ने रात्रिभोजमा सहभागी हुने छिन् ।

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम पनि छ । सो कार्यक्रममा भण्डारी नेपाल–बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिने कार्यक्रम छ ।


प्रकाशित मितिः २०७७ साल चैत ९ गते सोमबार, १०:३६