काठमाडौंः संयुक्त राष्ट्रसंघले इजरेलमा कार्यालयको गाडीभित्र यौन क्रियाकलाप गरेको आरोपमा आफ्ना दुई कर्मचारीलाई निलम्बन गरेको छ ।

तेल अभिभस्थित समुद्री तटनजिक एउटा मुख्य सडकमा राष्ट्रसंघको चिन्ह अंकित गाडीभित्र ती दुई जनाको क्रियाकलाप खिचिएको थियो ।

रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा तीमध्ये एक जनासँग यौन क्रियाकलपा गरेको भिडियोमा देखिन्छ ।

अठार सेकन्ड लामो भिडियो गत महिना सामाजिक सञ्जालमा व्यापक रुपमा प्रसारित भएपछि राष्ट्रसंघले त्यसबारे अनुसन्धान सुरु गरेको छ ।

राष्ट्रसंघीय महासचिवका प्रवक्ता स्टेफन ड्यूजरिकले उक्त भिडियो फुटेजबाट आफू स्तब्ध भएको बताएका छन् ।


राष्ट्रसंघका अनुसार भिडियोमा देखिएका व्यक्तिहरु इजरेलस्थित राष्ट्रसंघीय शान्ति सेनाको मिशन यूएनटीएसओमा कार्यरत भएको टुङ्गो लागेको छ । उनीहरु सैन्य पर्यवेक्षणका लागि खटिएका अन्तर्राष्ट्रिय कर्मचारी हुन् ।

उनीहरु घटनाबारे अनुसन्धान सम्पन्न नहुँदासम्मका लागि बेतलबी बिदामा बस्नेगरी निलम्बनमा परेको बिबिसीले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, असार १९, २०७७, १४:०९