बुटवलः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कुनै पनि बहानामा विकास निर्माण र सेवा प्रवाहलाई कमजोर नबनाउन तीनै तहका कर्मचारीलाई निर्देशन दिएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उच्चस्तरीय प्रशासन सुधार, कार्यान्वयन तथा अनुगमन समिति र प्रशासकीय अदालतको संयुक्त आयोजनामा शनिबार बुटवलमा आयोजित ‘प्रशासकीय पुनःसंरचनाको सन्दर्भमा सेवा प्रवाहको स्थिति र तहगत अन्तरसम्बन्ध’ विषयक प्रदेशस्तरीय अन्तक्र्रियामा मन्त्री पण्डितले कर्मचारीको योगदान र कार्य सम्पादनका आधारमा मूल्यांकन हुने बताए।

राष्ट्रसेवक कर्मचारीहरुका लागि काम गर्नेलाई सम्मान र नगर्नेलाई दण्डको व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्री पण्डितले असल सहकार्य र प्रगतिमा योगदान गर्न पनि आग्रह गरे।


प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सचिव तथा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहभागी रहेको उक्त अन्तक्र्रियामा मन्त्री पण्डितले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरिक हुन आग्रह गरे।