काठमाडौंः निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका सन्दर्भमा व्यक्ति, निकाय तथा अधिकारीलाई आइतबार रातिदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ ।

निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न जारी भएको निर्वाचन आचारसंहिताको पूर्णरूपमा पालना गर्न र गराउन आयोगले सम्पूर्ण निर्वाचन सरोकार पक्षलाई निर्देश गरेको छ ।

उक्त आचारसंहिता नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारीलाई लागू हुनेछ ।


नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनका काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलका भ्रातृ सङ्गठन र उम्मेदवार तथा सम्बन्धित व्यक्तिका हकमा समेत उक्त आचारसंहिता लागू हुनेछ ।

यसअघि आयोगले गत शुक्रबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको थियो ।

निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६, नेपाली कांग्रेसका १६, समाजवादी पार्टीका ७, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका २र२ गरी ४५ उम्मेदवारले भाग लिएका छन् ।

यसैगरी सातवटा प्रदेशमा महिला समूहतर्फ ७, दलित समूहतर्फ २, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय समूहतर्फ २ र अन्य समूहतर्फ ७ गरी जम्मा १८ रिक्त पदका लागि महिला समूहतर्फ १६, दलित समूहतर्फ ५, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ ५ र अन्य समूहतर्फ १९ उम्मेदवार छन् ।

आयोगका अनुसार निर्वाचन आचारसंहिता लागू भएदेखि निर्वाचन सम्पन्न नभएसम्म ‘नयाँ कार्यक्रम गर्न नहुने, पद सिर्जना, विज्ञापन, सुविधा वृद्धि, पुरस्कार दिने, सरुवा, बढुवा वा काजमा पठाउने, विदेश भ्रमणमा जान नहुने र निर्वाचनसम्बन्धी जिम्मेवारी दिन नहुने’ र ‘तटस्थ र निष्पक्ष रहनु पर्ने’ उल्लेख छ ।

राजनीतिक दलको हकमा ‘निर्वाचनको अन्तिम परिणाम नआएसम्म सामान्य र विषयगत आचारणहरू लागु गरिएको छ ।

उम्मेदवारहरूको हकमा निर्वाचन मनोनयनपत्र दर्ता भएको मितिदेखि चुनावको अन्तिम परिणाम नआएसम्म ‘जुलुस, आमसभा, ‍र्‍याली, बैठक, भेला गर्दा पालना गर्नु पर्ने आचरण र सवारीसाधन प्रयोग तथा प्रचारप्रसार गर्दा पालना गर्नु पर्ने आचरणहरू लागु गरिएको छ।

आयोगका अनुसार दल तथा उम्मेदवारहरूले मोटर तथा मोटरसाइकल र्‍याली गर्न पाउने छैनन । निर्वाचन पर्यवेक्षक तथा सञ्चारमाध्यमले समेत आचारसंहिता पालना गर्नु पर्नेछ। उनीहरूले कसैको पक्षमा प्रचारप्रसार गर्न नपाउने उल्लेख छ । आचारसंहिता उल्लङ्घन भए उजुरी गर्न सकिने आयोगले जनाएको छ ।


प्रकाशित मितिः सोमबार २८ पौष,, ०७:३८