काठमाडौंः निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ ।

आयोगको आज राष्ट्रियसभा सदस्यका लागि हुने उक्त निर्वाचनमा भाग लिने राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने निर्णय गरेको हो ।

आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, समाजवादी पार्टीलाई पाँच औंलासहितको हत्केला, राष्ट्रिय जनता पार्टी नेपाललाई ढल्केको छाता र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई चुनाव चिन्ह प्रदान गरेको हो ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) लाई हलो, राष्ट्रिय जनमोर्चा नेपाललाई गिलास, नेपाल मजदुर किसान पार्टीलाई मादल, नेपाल सङ्घीय समाजवादी पार्टीलनई बस, नेपाली जनता दललाई गोरुगाडा चक्का (पाङ्ग्रो) र इतिहासिक प्रजातान्त्रिक जनता पार्टीलाई ट्याक्टर निर्वाचन चिन्ह प्रदान गरेको आयोगले जनाएको छ ।


यसैबीच आयोगले उक्त निर्वाचनको सन्दर्भमा सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत र दुई जना न्यायाधीशलाई जगेडा निर्वाचन अधिकृत तोकेको छ ।

आयोगका अनुसार मोरङका मेदिनीप्रसाद पौडेल, धनुषाका राजकुमार खतिवडा, ललितपुरका मोहनबहादुर कार्की, कास्कीका काजीबहादुर राई, दाङका रितेन्द्र थापा, सुर्खेतका राजेन्द्रकुमार आचार्य र डोटीका विदुर काफ्ले निर्वाचन अधिकृत तोकिएका छन् ।

त्यस्तै जगेडा निर्वाचन अधिकृतमा कैलाशप्रसाद सुवेदी र दिवाकर भट्टलाई तोकिएको छ । न्याय परिषद्को परामर्शमा आयोगले उनीहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।


प्रकाशित मितिः बुधबार, पुस ९, ११:५८