काठमाडौंः राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिने अधिकंश सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण, निजामती ऐन, आदिवासी जनजाति ऐन र नेपाल-भारत सीमा क्षेत्रमा देखिएको केही समस्याका बारेमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद उदया शर्मा पौडेलः संघीय निजामती ऐन ल्याउन राज्यलाई अप्ठ्यारो परेको कर्मचारीलाई उत्साह र प्रेरणा दिन एक तह बढुवा गरेर स्थानीय तह र प्रदेशमा काममा खटाउन सुझाव दिनुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणलाई लक्षित गरेर भारतीय सेना नेपाल भएको भन्ने विषयमा सरकारबाट जानकारी माग।


सांसद जितेन्द्रनारायण देवः आव २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफलमा सिद्धान्तका विषय गौण देखिएको, शब्द चयनमा गम्भीर नदेखिएको तथा बजेट समावेशी र प्रगतिशील हुनु पर्नेमा त्यो छाँटकाँट नदेखिएको उल्लेख गर्नुका साथै सन्तुलित विकास, गरिबी घटाउने, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन, समाजवादी आर्थिक प्रणाली, सार्वजनिक र निजी क्षेत्रलाई विकासको साझेदार बनाउने, प्रगतिशील अर्थ प्रणालीको विकास, विप्रेषणलाई उत्पादनशीलसँग जोड्ने कुरा सकारात्मक रहेको प्रतिकृया ।

सांसद विन्दादेवी रानाः भारतीय प्रधानमन्त्रीको आसन्न भ्रमणका बेला सीमा क्षेत्रमा थिचोमिचो भएको विषयमा कुरा राख्न तथा प्रबुद्ध समूहले हालसम्म गरेको कार्य प्रगति सार्वजनिक गर्न माग गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला भएको भनिएको वान टु वान वार्तामा के भएको थियो, त्योबारे सदनलाई जानकारी गराउन अनुरोध।

सांसद तारादेवी भट्टः कञ्चनपुरको प्यारा ताललाई कब्जा गर्ने उद्देश्यले भारतीय सुरक्षा फौजले आँखा लगाएको तथा सीमावर्ती क्षेत्रमा भारतीय पक्षले नेपाली किसानको बालीनाली लुट्ने काम गरेकाले सरकारको ध्यान दिन आग्रह ।

सांसद बिना पोखरेलः हामी समाजवादी अर्थतन्त्रको जग हाल्दैछौं भन्छौँ तर औद्योगिकीकरणमा पर्याप्त जोड दिएको देखिन्न भन्दै कृषिलाई औद्योगिकीकरण गर्ने र खनिजपदार्थ विकासमा जोड दिने कुरा सिद्धान्त र प्राथमिकतामा छुटेको प्रतिकृया ।

सांसद धना खतिवडाः मुलुकको द्रुत र वैज्ञानिक विकासका लागि सेटलाइट सिटीको अवधारणा ल्याउन आवश्यक।

सांसद रामचन्द्र राईः मुलुकमा सुशासन कायम नभई विकास र समृद्धि सम्भव छैन भन्दै सुशासनलाई प्रवद्र्धन गर्न भ्रष्टाचारलाई कडाइका साथ अघि लैजाने कुरा स्पष्ट ढंगबाट आउनुपर्नेमा जोड ।

सांसद प्रकाश पन्तः मुलुकमा रोजगारी नभएर विदेशिएका युवालाई समेट्ने समृद्धि र सामाजिक सुरक्षा कार्यक्रम बजेटमा समावेश गर्न आवश्यक।

सांसद विमला राईः सरल, छोटो र स्पष्ट ढंगले बजेटको सिद्धान्त र प्राथमिकता आएको छ, नेपालीको चुलिएको आकांक्षा र स्वेतपत्रले देखाएको धरातलका आधारमा रहे पनि महिला र बालिबालिकाको विषय भने समेटिन नसकेको टिप्पणी ।

सांसद दिलकुमारी रावलः विप्रेषणलाई उत्पादनको क्षेत्रमा प्रयोग गर्ने र उत्पादन बढाउन कृषिको व्यावसायिक खेतीलाई प्रवद्र्धन गर्ने बजेट आउन आवश्यक रहेको जानकारी।

सांसद रमेशप्रसाद यादवः सडकको किनारमा वृक्षरोपण र चुरे संरक्षणलाई विशेष ध्यान दिएर बजेट विनियोजन गर्न आग्रह ।

सांसद खिमकुमार विश्वकर्माः आत्मनिर्भर अर्थतन्त्रको विकास, कृषिमा आधुनिकीकरण र व्यवसायीकरण, वैज्ञानिक भूस्वामित्व, भौगोलिक विविधतालाई ध्यानमा राखेर क्षमतालाई प्रवद्र्धन गर्ने ढंगबाट बजेट ल्याउन सुझाव ।

राष्ट्रियसभाको अर्को बैठक वैशाख ३० गते आइतबार दिनको ११ बजे बस्नेछ ।