काठमाडौंः राष्ट्रियसभाका सदस्यले आफ्नो कार्यकाल कति वर्ष रहने भन्ने यकिन स्वयंले गर्ने भएका छन् ।

राष्ट्रियसभामा रहेका ५९ जना सांसदको पदावधिको निर्वाचन भोली सोमबार गोलाप्रथाबाट हुनेछ ।

कुल ५९ जना रहेको सांसदमध्ये १९ जनाको पदावधि २ वर्षको हुनेछ भने अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष हुनेछ । यसरी छुट्टाछुट्टै अबधि हुने हुँदा कुन सांसदको म्याद कति हुने भनेर टुंगो भने गोलाप्रथाबाट तय गरिने छ ।

नेपालको संविधानको धारा ८६ अनुसार सो सभाका ५९ सदस्यले गोलाविधिद्वारा आफ्नो कार्यावधि २, ४ र ६ मध्ये कति वर्ष हुने भन्ने टुङ्गो सोमबार पहिलो पटक लगाउने छन् ।


गोलाप्रथाको प्रक्रियाबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा संसद सचिवालयका सचिव राजेन्द्र फुयालले गोला प्रथाबाट सांसदहरु निर्वाचित भएको दृश्य जनताले प्रत्यक्ष प्रसारणमार्फत हेर्न पाउने व्यवस्था गरिएको बताए ।

सोमबार बिहान ११:३० बजेदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा गोलाविधिद्वारा कार्यक्रम शुरु हुनेछ ।

चयन प्रक्रिया –

गोलाप्रथालाई पूर्ण विश्वसनीय र पारदर्शी बनाउन सचिवालयले कार्यविधि तय गरेको छ । सो कार्यविधिअनुसार पारदर्शी बट्टामा गोला राखिनेछ । गोला राख्नुअघि बाकस खाली गरेर देखाइनेछ । त्यसपछि खोल्न मिल्ने गोलाकार बलमा २ वर्ष, ४ वर्ष, ६ वर्ष लेखिएका चिट्ट्ठा कागज पटयाएर राखिनेछ ।

संविधानानुसार पाँच समूहमा राष्ट्रियसभाका सदस्य विभाजन गरिनेछ । पहिलो समूहमा सातै प्रदेशका तीन तीन गरी गरी २१ महिला सदस्यले गोलाप्रथा कार्यक्रममा भाग लिई समय निर्धारण गर्नेछन् ।

यसपछि सातै प्रदेशका एक एक गरी सात दलित सदस्य, सात अपाङ्गता भएका वा अल्पसंख्यक समूहका सदस्यले गोलाप्रथामा भाग लिने कार्यक्रम तय गरिएको छ । दलित र अल्पसंख्यकको हकमा भने शून्य वर्ष पनि राखिएको छ । दुई दुई जनाले गोला तान्दा २, ४ र ६ वर्ष कार्यकालको हुने र एकजना बाँकी रहने भएकाले एक जनालाई शून्य वर्ष मानेर पुन ४ वर्ष र ६ वर्षको गोला तान्न लगाइनेछ ।

अन्य खुलाबाट निर्वाचित सात प्रदेशका २१ सांसद र राष्ट्रपतिबाट निर्वाचित ३ जनाले पनि गोला तानेर आफ्नो पदावधि निर्धारण गर्नेछन् । गोलाप्रथाबाट सांसदको निर्वाचन हुँदा निर्वाचन आयोग र कानुन मन्त्रालयका प्रतिनिधि पनि रहने छन् ।

गोलाप्रथामा सचिवालयले वर्णानुक्रमानुसार भाग लिने व्यवस्था मिलाएको छ ।