काठमाडौंः प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय अखण्डताको मुद्दामा सरकारलाई सधैं सहयोग रहने बताएका छन् ।

प्रतिनिधिसभा संसदमा आज देउवाले मलुकको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको बताएका हुन् ।

‘संविधान संशोधनमा पूर्ण समर्थन छ,’ उनले भने, ‘भूमि फिर्ता ल्याउन विपक्षी दलको हैसियतले सहयोग रहन्छ ।’

सरकारले ल्याएको संविधान संशोधन विधेयक मुलुकको हितमा भएका कारण कांग्रेसले केन्द्रीय समिति र संसदीय दलले समर्थन गरेको उनले प्रष्ट पारे ।

देउवाले राष्ट्रिय अखण्डताको विषयमा सरकारलाई सधैं समर्थन रहने प्रष्ट पारे ।


सुगौली सन्धिदेखि नै काली (महाकाली) नदी पूर्वको भूभाग नेपालको भन्ने प्रष्ट रहेको उनले बताए । देउवाले भने, ‘सुगौली सन्धिअनुसार काली नदीको पूर्वको जमिन नेपालको हो भन्ने स्पष्ट छ । अंग्रेजले छापेको नक्सामा पनि काली नदी भनिएको छ । कसैले महाकाली पनि भन्छन् तर हामी उता काली नै भन्छौं । चाइनाको नक्सामा पनि कुटीयाङ्दी शब्द छ । नेपालीमा भन्दा काली नदी नै हो त्यो ।’

उनले सबै दल एक ठाउँमा उभिनुलाई राष्ट्रिय हितका लागि राम्रो हुने पनि बताए ।


प्रकाशित मितिः शनिबार, जेठ ३१, २०७७, १५:१२