काठमाडौंः राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक नेपालगञ्ज उपमहानगरपालिका–१८ बस्ने २७ वर्षीय प्रविण थापा मगरको हत्यामा संलग्न रही फरार रहेका अभियुक्तलाई प्रहरीले बिहीबार भक्तपुरको ताथलीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रा बस्ने १८ वर्षीय बिवेक परियार रहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाँके नेपालगञ्जमा कार्यरत प्रविण गत माघ २ गते नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित खेतबारीमा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न परियारलाई भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा लुकिछिपी रहेको अवस्थामा फेला पारी ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिए ।


उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा पठाउने तयारी भइरहेको उनले बताए ।


प्रकाशित मितिः २०७७ साल माघ १६ गते शुक्रबार, ०८:५९