काठमाडौं: राष्ट्रिय परिचय–पत्र व्यवस्थापन केन्द्रले साउनदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्ने भएको छ । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरण सहितको राष्ट्रिय परिचयपत्रको वितरण साउनको तेस्रो सातादेखि सुरु हुने भएको छ ।

मन्त्रिपरिषद्को २०६७ असार १६ गतेको निर्णयानुसार छुट्टै निकायको रूपमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना भएको थियो ।स्थापनाको ८ वर्षपछि केन्द्रले परिचयपत्र वितरण गर्न लागेको हो ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका अनुसार साउनको तेस्रो सातादेखि राष्ट्रिय परिचय–पत्र वितरण गरिने भएको छ । परिचयपत्र वितरणका लागि सिंहदरबार र पाँचथरमा असार ५ गतेदेखि विवरण सङ्कलन तथा ‘डाटा इन्ट्री’ को काम भइरहेको छ ।


सिंहदरबार स्थित सबै मन्त्रालय र निकायहरूमा विवरण सङ्कलनको ढाँचा पठाई सकिएको तथा विवरण आउने क्रम जारी रहेको छ । पहिलो चरण अन्तर्गत परिचयपत्र वितरणको सुभारम्भ सिंहदरबारबाट गरिने जानकारी समेत उहाँले दिनुभयो । यस चरण अन्तर्गत नै पाँचथरमा समेत परिचयपत्र वितरण गरिने छ ।

परिचयपत्रमा व्यक्तिगत र जैविक (बायोमेट्रिक) गरी दुईवटा विवरण ‘इन्ट्री’ गरिने छ । व्यक्तिगत विवरण नागरिकता प्रमाणपत्रको आधारमा तथा विवरण सम्बन्धित व्यक्तिको दश औंलाको छाप लिएर ‘इन्ट्री’ गरिने केन्द्रले जनाएको छ ।

कसैले नक्कल (कपी) गर्न नसकोस् भनेर राष्ट्रिय परिचयपत्रमा ‘देखिन सकिने’ र ‘देखिन नसकिने’ (सिन र अनसिन) सुरक्षण चिह्न राख्नुपर्छ । ‘सेक्युरिटी फिचर’ बारे सरकारले निर्णय नगर्दा केही समयदेखि परिचयपत्र वितरण प्रक्रिया अवरुद्ध भएको थियो ।

मन्त्रिपरिषद्ले निर्णय गरेका सुरक्षण चिह्नसहित कम्पनीले कार्ड छाप्ने गोरखापत्र दैनिकमा समचार छ ।