काठमाडौं, २४ जेठ: राष्ट्रिय पार्टीमा ३ महिनाभित्र महिलाको सहभागीता ३३ प्रतिशत बनाउन निर्वाचन आयोगको निर्देशन दिएको छ । संघीय संसदमा थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरेका कुनै पनि दलले आफ्नो केन्द्रीय कमिटीमा  ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन नसके पछि निर्वाचन आयोगले यस्तो निर्देशन दिएको हो ।

निर्वाचन आयोगले नेकपा दर्तासँगै सबै दललाई राजनीतिक दल सम्बन्धी कानुन बमोजिम ३ महिनाभित्र केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन निर्देशन दिएको हो । तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि राष्ट्रिय मान्यता प्राप्त दल अब चारवटामात्र छन् ।


। नेकपा, कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम कुनै पनि दलको केन्द्रीय कमिटीमा कानुन बमोजिम महिला प्रतिनिधित्व छैन ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा दलहरुले आयोग समक्ष महाधिवेशनबाट ऐन बमोजिम ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउने लिखित प्रतिबद्धता जनाएका थिए । तर, आयोगले नेकपाको दल दर्ता गर्ने सन्दर्भमा नयाँ निर्णय गर्दै ३ महिनाभित्र ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन निर्देशन दिएपछि दलहरु अप्ठ्यारोमा परेका छन् ।