काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग राहत वितरणलाई पारदर्शी बनाउन आग्रह गरेको छ ।

कांग्रेसले सत्तारुढ दलको नेतृत्व रहेका स्थानीय तहमा राहत वितरणमा पक्षपातपूर्ण व्यवहार भएको आरोप लगाउँदै राहत वितरण कायलाई न्यायोचित, पारदर्शी र ब्यवस्थित बनाउन आग्रह गर्दै सबै स्थानीय तहमा सर्वदलीय अनुगमनको व्यवस्था गर्न माग गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित पदाधिकारीहरुको बैठकले केन्द्र र प्रदेश सरकारले घोषणा गरेको राहत लक्षित समूहसम्म नपुगेकोले द्रुत गतिमा राहत पुर्‍याउन पनि कांग्रेसले सरकारलाई अपिल गरेको छ ।


‘सत्तारुढ दलले विजयी हासिल गरेका कतिपय स्थानीय तहमा राहत वितरणमा पक्षपातपूर्ण व्यवहार भएको भन्ने विषयलाई कांग्रेसले गम्भीर रुपमा लिएको छ’ आज पदाधिकारी बैठकको निर्णयबारे जानकारी गराउँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ‘राहत वितरणको कार्यलाई न्यायोचित, पारदर्शी र व्यवस्थित बनाउन आग्रह गर्दै बैठकले स्थानीय तहमा सर्वदलीय अनुगमनको व्यवस्था गर्न आग्रह गरेको छ ।’

राहत वितरण अनुगमन गर्न सर्वदलीय समिति बनाउन पनि कांग्रेसले माग गरेको छ ।

बैठकले उपत्यका लगायतका शहरमा खान बस्न संकट भएपछि पैदल घर फर्किरहेका नागरिकलालाई कहिं पनि कसैलाई पनि बाटोमा भोको पर्न नदिई गन्तव्यमा पुग्न सहजीकरण गर्न अपील गरेको छ ।

यस्ता छन् बैठकका निर्णयहरु:



प्रकाशित मितिः शनिबार, वैशाख ६, १८:३५