काठमाडौं: बारम्बार ठेक्काको विषयमा अन्योलमा रहेको म्याग्दीको राहुघाट जलविधुत् आयोजनाले साढे ७ वर्षपछि गति लिएको छ । भारतीय एक्जिम बैंकले जयप्रकाश एसोसियट्स लिमिटेडसँग जेठ ९ गते नयाँ सम्झौता स्वीकृत गरेपछि ४० मेगावाटको यस जलविधुत् आयोजना अघि बढेको हो । भारतीय कम्पनीसँग सम्झौता रद्द भएको साढे २ वर्षपछि नयाँ ठेक्का गरी काम अघि बढेपछि आयोजनाले गति लिएको हो ।

यसअघि छनौट भएको भारतको आइभीआरसीएल प्रोजेक्ट्स लिमिटेडले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रियाबाट प्राधिकरणले आठ मेगावाट बढाएर ४० मेगावाट क्षमतामा आयोजना निर्माण गर्न लागेको हो । सम्झौताअनुसार आयोजना सन् २०१३ को अन्तिममा सकिनुपर्ने थियो तर आईभीआरसीएलले काम गर्न नसकेपछि आयोजना अनिश्चित बन्दै आएको थियो ।


।  ४५ महिना भित्र विधुत् उत्पादन गर्ने लक्ष्य सहित यस आयोजनाको निर्माण सुरु गरिएको छ  ।

म्याग्दीमा निर्माणाधीन यस आयोजनाका लागि एक्जिम बैंले करिब ६ अर्ब रुपैयाँ सहुलियत ऋण उपलब्ध गराएको छ । आइभीआरसीएलले अनेक बाहना देखाउँदै काम नगरेपछि नेपाल विधुत् प्राधिकरणले २०७२ असार ३ गते सम्झौता रद्द गरेको थियो । लामो समयसम्म अलपत्र रहेको राहुघाट जलविधुत् आयोजना प्राधिकरणले रघुगंगा हाइड्रो पावर कम्पनी स्थापना गरी अघि बढाएको हो ।

एक्जिम बैंकमा प्रस्ताव गरेको लामो समयसम्म ठेक्का स्वीकृत नहुँदा निर्माण सुरु गर्न समय लागेको थियो । स्वीकृतिलगत्तै आयोजनास्थलमा ठेकेदारले काम सुरु गरि सकेका छन् ।  ८ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट ठेक्का स्वीकृत भएको करिब ४५ महिनाभित्र विधुत् उत्पादन गर्ने लक्ष्य छ । इलेक्ट्रो मेकानिकलतर्फको निर्माणका लागि जेठभित्र ठेक्का आह्वान गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले आयोजनाका लागि आवश्यक पर्ने १ सय ९४ रोपनी निजी जग्गा अधिग्रहण गरिसकेको छ । यस्तै, वन क्षेत्रको जग्गा लिएर यसबापत १.५ हेक्टरमा वृक्षारोपणसमेत गरिएको जनाइएको छ । आयोजनाबाट उत्पादित विधुत् करिब ६ सय मिटर दूरीमा निर्माण हुने २२० केभी कालीगण्डकी कोरिडोरको टावरबाट प्रसारण गरिनेछ ।