काठमाडौंः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला रिपोर्टस क्लब, भृकुटीमण्डपको कार्यक्रममा जाने क्रममा पक्राउ परेका छन् ।

सादा पोसाकमा आएका प्रहरीले सिटौलालाई पक्राउ गरेर महानगरीय प्रहरी परिसर टेकुमा लगेको परिसरका डिएसपी मोहन थापाले बताए ।

सिटौला सिन्डिकेट पक्षमा जारी व्यवसायीको आन्दोलन प्रचार–प्रसार समितिका संयोजक पनि हुन् ।

गृहमन्त्री रामबहादुर थापाले यातायात अवरुद्ध गर्नेलाई कारबाही गर्ने निर्देशन दिएलगतै प्रहरीले यातायात समितिका पदाधिकारीलाई समात्न सुरु गरेको हो। सार्वजनिक यातायातलाई अवरोध पुर्याउनेहरुलाई अझै पनि पक्राउ गरिने प्रहरीले जनाएको छ ।