काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् ।

उनी करिब साढे ५ घण्टापछि बिहीबार साँझ रिहा भएकी हुन् ।

राज्यविरुद्धको कसुरको आरोपमा आज दिउँसो १ बजे पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि आजै साँझ रिहा गरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए ।

एसएसपी थापाले रामकुमारीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको बताए ।

राष्ट्रपतिबारे अभिव्यक्ति दिएकी रामकुमारीलाई प्रहरीले राज्यविरुद्धको कसूरको अभियोगमा अनुसन्धान गर्न जरुरी पक्राउ पूर्जी थमाएर पक्राउ गरेको थियो ।


उनलाई मिनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साँझ रिहा गरिएको छ ।

उनी पक्राउ परेको विरोधमा प्रचण्ड(माधव समूहका कार्यकर्ताले दिनभर वानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।

रिहाइपछि नेतृ रामकुमारी झाँक्रीले आफू विना शर्त रिहा भएको बताएकी छन् । प्रतिगमनविरुद्ध आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन भूमिका खेलेका कारण आफूलाई दुव्यर्वहार गर्ने प्रयासस्वरुप पक्राउ गरिएको भन्दै उनले लोकतन्त्र पक्षधरहरुको दबावमा आफू रिहा भएको बताइन् ।


प्रकाशित मितिः २०७७ साल माघ २९ गते बिहीबार, १९:२७