रुकुमः रुकुममा निमार्ण गरिएको नेपाली कांग्रेसको स्थानीय छायाँ सरकारले स्थानिय सरकारले गरेका विकास निर्माणका कार्यक्रमहरुको अनुगमन गर्न शुरु गरेको छ ।

बाँफीकोट गाउँपालिकाअन्तर्गत विभिन्न ठाउँमा भएका भौतिक पूर्वाधारको अवस्थाका बारेमा छायाँ सरकारले अनुगमन सुरु गरेको हो ।

छायाँ सरकार प्रमुख हर्कसिंह खत्रीका अनुसार, विकास निर्माणको नाममा हुनसक्ने भ्रष्टाचार र अनियमिततालाई रोक्नका लागि विभिन्न योजनाको अनुगमन शुरु गरिएको हो ।

अनुगमनका क्रममा निर्माण भएका भौतिक पूर्वाधारमध्ये पुल, सडक, खानेपानी, विद्यालय भवन, लक्षित वर्गको बजेटलगायतका क्षेत्रमा धेरै अनियमितता देखिएको प्रारम्भिक जानकारी आएको उनले बताए ।


कुनै योजनामा नयाँ निर्माण गर्दा खर्च भएको रकमभन्दा अहिले मर्मतमा बढी खर्च गरेको, गुणस्तरीय सामग्रीको प्रयोग नगरेको, प्राविधिक स्टिमेटअनुसारको काम नभएको अनुगमनका क्रममा देखिएको छायाँ सरकार बाँफीकोटअन्तर्गत निर्माण तथा भौतिक पूर्वाधार विभागका संयोजकले बताएका छन् । निर्माण भएका प्रायः सबै योजनामा आमभेला नबोलाई एक्लौटीरुपमा उपभोक्ता समिति गठन भएकाले पनि भने अनुसारको काम नभएको उनको भनाइ छ ।

छायाँ सरकारले गाउँपालिकाअन्तर्गत १० वटै वडामा भएका सबै योजनाको अनुगमन गर्ने बताइएको छ । यहाँ भएका योजना र अनियमितताका बारेमा जनतालाई जानकारी गराउने उद्देश्यले अनुगमन गर्न शुरु गरिएको उनीहरुको भनाई छ ।