रुकुम: रुकुमको सिस्ने गाउँपालिकाले  आजदेखि डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ । सर्वसाधारणलाई गाउँपालिकाले सम्पादन गर्नुपर्ने र सम्पादन गर्दै आएका गतिविधिलाई सहज ढंगले जानकारी गराउने उद्धेश्यका साथ डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याइएको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाकी अध्यक्ष कुमारी बरालले डिजिटल प्रविधिमार्फत अनागरिकलाई कार्य सम्पादन सहज र सरल ढंगवाट सुसूचित गर्ने र काम गतिविधि प्रभावकारी भए नभएको जानकारी लिन सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नागरिकलाई आफ्नो जिम्मेवारीप्रति सचेत र जागरुक बनाउन पनि यसबाट महत्वपूर्ण उपलब्धि हासिल हुने जानकारी गराउनुभयो ।


गाउँपालिकाका प्रवक्ता जीवन केसीका अनुसार सिस्ने गाउँपालिकाका सबै वडामा डिजिटल नागरिक वडापत्र स्थापना गरिनेछ ।