काठमाडौंः प्रहरीले रुपन्देही र दाङबाट अवैध लागूऔषध सहित ८ जनालाई पक्राउ गरेको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ बसपार्कबाट करिब ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–११ देवीनगर बस्ने २० वर्षीय पदम थापा र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेका छन् ।

प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

यस्तै, दाङको गढवा गाउँपालिका–१ जुरौनी बस्ने ३२ वर्षीय गफुर मियाँ लगायत ६ जनालाई करिब ३० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।


मियाँको घरमा लागूऔषध ब्राउनसुगरको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उक्त वस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २२ सोमबार, १४:०५