काठमाडौं: रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’ र समुह ‘जी’को खेल आज हुँदैछन् । समुह ‘एफ’ अन्तर्गतको दोश्रो खेलमा आज स्वेदन र दक्षिण कोरिया बीच खेल हुँदैछ । गत राति भएको खेलमा मेक्सिकोले देफेन्दिंग च्याम्पियन जर्मनीलाई पराजित गरे पछि उक्त समूहमा अर्को चरण प्रवेश गर्न निकै नै प्रतिष्पर्धा हुने देखिएको छ ।

साँझ ५:४५ मा निझ्नी नोभगोरोड रंगसालामा हुने स्वेदन र दक्षिण कोरिया बीचको खेलमा एल साल्भाडोरका जोइल एगुइलरले मुख्य रेफ्रीको भूमिका निभाउने छन् । देफेन्दिंग च्याम्पियन जर्मनी पराजित भए पछि उक्त समूहमा अर्को चरण प्रवेशको लागि रोमान्चक प्रतिष्पर्धा हुने देखिएको छ ।


समूह ‘जी’ अन्तर्गतको पहिलो खेल बेल्जियम र पानामा बीच नेपाली समयानुसार बेलुका ८:४५ मा हुँदैछ । शक्तिशाली मानिएको टिम बेल्जियम सँग हुने खेलमा पहिलो पटक विश्वकपमा छनौट भएको पानामालाई जितको लागि कठिन हुने देखिएको छ । तर विश्वकपमा भएका हाल सम्मको खेलमा अप्रत्याशित नतिजा आएको हुँदा बेल्जियम होशियारीपूर्वक खेल खेल्नुपर्ने जरुरी छ । डेब्यु गरेको आइसल्याण्डले अर्जेन्टिना सँग खेलेको बराबरीले पनामलाई हौसला भने पक्कै दिनेछ ।

यसै गरी बहुप्रतिक्षित इंग्ल्यान्डले रातको ११:४५ मा तुनिसिया सँग प्रतिस्पर्धा गर्दै छ । उक्त खेलमा तुनिसिया माथि इंग्ल्यान्ड हावी हुने देखिए पनि इंग्ल्यान्डलाई ढुक्क हुने वातावरण भने देखिन्न । भोलोगोग्राद एरिनामा हुने उक्त खेलमा कोलम्बियाका विल्मर रोल्दोंले मुख्य रेफ्रीको भूमिका निर्वाह गर्नेछन् । ग्यारेथ साउथगेटले इंग्ल्यान्डको टिम प्रशिक्षण गर्ने छन् ।