दुलेगौंडा (तनहुँ): घरमा आमासँगै रहेकी शुक्लागण्डकी–३ बन्केवाकी २१ महिने संस्कृति न्यौपानेलाई सोमबार साँझ चितुवाले झम्टियो । चितुवाको पन्जामा परेकी संस्कृतिलाई आमा इन्दिराले ज्यानकै बाजी राखेर खोसिन् । घाइते संस्कृतिको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार बालिकाको स्वास्थ्य अवस्था सामान्य छ ।

यसअघि फागुन २८ मा पनि आमासँगै छिमेकीको विवाहमा जाँदै गर्दा बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट कुमालटारीका ७ वर्षीय अनुप नेपालीलाई चितुवाले आक्रमण गर्‍यो । आमा मीराको पछिपछि रहेका अनुपलाई चितुवाले बीचबाटै खोस्ने प्रयास गरेको थियो ।


। अनुपसँगै अरु दुई बालबालिका पनि थिए । तर दुई बालबालिकाको माझमा रहेका अनुपलाई चितुवाले आक्रमण गरी लडायो । तत्काल आमा मीराले देखेर ढुंगामुढा गर्दा चितुवा अनुपलाई छाडेर भाग्यो । चितुवासँग लडेर मीराले छोराको ज्यान बचाइन् । चितुवाले घाँटीमा चिथोरेर घाइते भएका उनलाई गण्डकी अस्पतालमा एक साता उपचारपछि घर ल्याइएको छ ।

त्यस्तै तनहुँकै बन्दीपुर–४ लोहीपाखामा माघ १३ गते गाउँमा भोज खाएर आमासँगै घर फर्कंदा १० वर्षीय इसक सुनारलाई पनि चितुवाले आक्रमण गर्‍यो । आक्रमणबाट इसकको घटनास्थलमै ज्यान गयो । आमा पवित्राको अघिअघि हिँडिरहेका इसकलाई आक्रमण गरी चितुवाले खोल्सामा फ्याँकेको थियो ।

तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिका चितुवाको सिकार भएका छन् । चितुवा आक्रमणबाट पाँच बालबालिका घाइते भएका छन् । जिल्लाका विभिन्न स्थानमा चितुवाले बालबालिकालाई आक्रमण गर्न थालेको पनि दुई वर्ष पुुगेको छ । शृंखलाबद्ध चितुवा आक्रमण रोकिएको छैन । यो समाचार आजको नागरिक मा छ ।


प्रकाशित मितिः बिहीबार, चैत ६, ०७:३६