दाङः दाङमा शुक्रबार राति रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–८ का १९ वर्षीय रेशम वली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार तुलसीपुरबाट नारायणपुरतर्फ जाँदै गरेको रा २ प १९५० नम्बरको मोटरसाइकल घोराही ११ खैराचोकमा रोकिराखेको रा १ त १९३८ नम्बरको ट्रयाक्टरमा ठोक्किँदा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, मोटरसाइकलको पछाडि सवार घोराही उपमहानगरपालिका–१० का १८ वर्षीय अमृत चौधरी घाइते भएका छन् ।


घाइते चौधरीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।


प्रकाशित मितिः शनिबार, मंसिर २१, ०८:४५