रौतहटः चन्द्रपुर नगरपालिका–४ स्थित सडकबाट १ किलो ८ सय ग्राम अवैध लागूऔषध अफिम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका–७ भवराटोल बस्ने २३ वर्षीय सोम बहादुर लामा र सर्लाही बागमती नगरपालिका–१२ बागमती बस्ने ३० वर्षीय दिल बहादुर थिङ रहेका छन् ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्ज र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले ना १६ प ७८२५ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त अफिम सहित फेला पारी मोटरसाइकल चालक लामा र मोटरसाइकलमा सवार थिङलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रकाशित मितिः २०७७ साल कार्तिक २५ मंगलबार, १५:०२