काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खुले पनि त्यस लगत्तै शैक्षिक संस्थाहरु सञ्चालन गर्न नसकिने बताएका छन् ।

शिक्षा पत्रकार समूहले कोरोना भाइरसको महामारीबाट शैक्षिक क्षेत्रमा उत्पन्न परिस्थितिका बारेमा आज गरिएको भर्चुअल पत्रकार साक्षात्कारमा उनले यस्तो बताएका हुन् ।

विद्यार्थीहरुको संख्या धेरै हुँदा कक्षा कोठामा सामाजिक दुरी कायम गर्न मुस्किल हुने भएकाले शैक्षिक संस्थाहरु लकडाउनपछि सबैभन्दा अन्तिममा सञ्चालन गरिने उनको भनाइ छ ।

मन्त्री पोखरेलले लकडाउनको आगामी स्वरुप हेरेर मन्त्रालयले शैक्षिक कार्यक्रम र योजना तय गर्ने बताएका छन् ।


शिक्षा मन्त्रालयले गठन गरेको विज्ञ समितिले भोलि आइतबारसम्ममा सुझाब प्रतिवेदन बुझाउँदै छ ।

आफू सकेसम्म परीक्षा गराउने पक्षमा रहेको भन्दै उनले कक्षा १० र ११ को परीक्षामा विकल्प आएको बताए ।

लकडाउनका कारण एसईई र अन्य परीक्षाहरु प्रभावित बनेका छन् ।

आइतबारै मन्त्रिपरिषद्ले १५ वैशाखमा सकिने लकडाउनबारे निर्णय गर्ने र त्यसकैका आधारमा योजना बनाइने मन्त्री पोखरेलले बताए ।


प्रकाशित मितिः शनिबार, वैशाख १३, २१:०८