काठमाडौं: लघुजलविद्युत आयोजना पनि अब नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोड्न सुरु गरिएको छ । दुर्गम क्षेत्रमा विद्युतीकरण गरेर केन्द्रीय लाइन पुगेसँगै लघुजलविद्युत आयोजना बन्द हुने अवस्था उत्पन्न भएपछि ग्रिडमा ‘सिंक्रोनाइजेसन (आवद्ध) गर्ने अभियान सुरु गरिएको हो । ‘सिंक्रोनाइजेसन’ प्रक्रिया सुरु भएपछि प्राधिकरणले ४ आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।

प्राधिकरणका अनुसार धनकुटा लेगुवा खोलाको २६ किलोवाट, नुवाकोट स्याउरे भूमे खोलाको २३ किलोवाट, ताप्लेजुङ सेगुवा खोलाको ९० किलोवाट र लमजुङ मिदिम खोलामा निर्माण भएको सय किलोवाटको पिपिए गरिएको छ ।


। ठूला जलविद्युत आयोजना सरह लघुजलविद्युतको पनि हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ४.८० रुपैयाँमा पिपिए गरिएको प्राधिकरण भार प्रेषण केन्द्रले जनाएको छ । सबै आयोजनाको विद्युत ११ केभी लाइनमा आवद्ध गरिएको छ । लेगुवा खोलाको तेह्रथुमस्थित जिरी–खिम्ती सबस्टेसनबाट तानिएको नारकेमा ११ केभी लाइनमा आवद्ध गरिएको छ । यस्तै, स्याउरे भूमे सोही ठाउँको ११ केभी, सेगुव खोला ताप्लेजुङ सबस्टेसन नजिक र मिखिमको विद्युत भोर्लेटारस्थित ११ केभी लाइनमा आवद्ध गरिएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले गत वर्ष नै दुर्गम क्षेत्रमा निर्माण भएका लघुजलविद्युत आयोजना पनि ग्रिडमा जोड्ने कार्यक्रम तयार गरेको थियो । सोही कार्यक्रमअनुसार काम भइरहेको पनि प्राधिकरणले बताएको छ ।

हिमाल तथा पहाडका दुर्गम क्षेत्रमा विद्युतीकरण गर्ने उद्देश्यले निर्माण गरिएका लघुजलविद्युत आयोजना पछिल्लो समय सम्बन्धित ठाउँमा केन्द्रीय लाइन पुगेपछि विस्थापित हुने अवस्थामा पुगेका थिए । एक त यस्ता आयोजनाको विद्युत पूर्णरूपमा खपत भइरहेको थिएन । अर्को, मर्मत तथा सञ्चालन खर्च निकै महँगो हुँदै गएको थियो । ग्रिडमा आवद्ध भएपछि स्थानीयले उपभोग गरेर बचेको विद्युत केन्द्रीय प्रणालीमा प्रवाह हुन्छ । र, बचेको विद्युत अन्य ठाउँका बासिन्दाले उपभोग गर्न पाउँछन् । यसो हुँदा प्राधिकरणको दुर्गम क्षेत्रसम्म विद्युत पुर्याउने अभियान पनि पूरा हुने देखिन्छ । ग्रिडमा आवद्ध हुन गुल्मीको १ सय ३५ किलोवाटको परोपकार र ८५ किलोवाटको दरम खोला लघुजलविद्युत आयोजना पनि पिपिए चरणमा रहेको बताइएको छ ।