मकवानपुरः हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे र चुरियामाईको बिचस्थित सडकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरमा डेरा गरी बस्ने थाहा नगरपालिका–५ घर भएका ३१ वर्षीय मान बहादुर थोकर र हेटौंडा उपमहानगरपालिका–४ बस्ने ४५ वर्षीय सेते लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले रक्सौलबाट काठमाडौंतर्फ जाँदै गरेको ना ३ ख ६४६६ नम्बरको ट्याङकर जाँच गर्ने क्रममा ट्याङकरको तेल निकाल्ने लकिङ बक्समा लुकाइछिपाई राखिएको लागूऔषध १ सय एमएलको विनसिनरेक्स १ सय ५५ बोतल सहित फेला पारी ट्याङकर चालक थोकर र लागूऔषध ओसार पसारमा संलग्न लामालाई बुधबार राति पक्राउ गरेको मकवानपुर प्रहरीका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः बिहीबार, वैशाख १८, २०:०७