काठमाडौं, २४ जेठ: नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो समयपछि देशमा आर्थिक विकासको राजनीतिक वातावरण बनेको बताएका छन्। साना तथा मझौला व्यवसायी महासंघको १५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले उक्त  भनाइ राखेका हुन् ।

उनले सरकारसँगै राजनीतिक दलहरुको मुख्य एजेन्डा आर्थिक विकास नै भएको बताउँदै कृषि क्षेत्र र पर्यटनको विकास तथा रोजगारीका सम्भावनाहरुलाई सदुपयोग गर्ने चुनौति रहेको बताए। उनले  भने, ‘लामो समयपछि देशमा आर्थिक विकासका लागि राजनीतिक वातावरण मुलभुत रुपमा तयार भएको छ। अब हामी आर्थिक विकासलाई नयाँ गति दिने चुनौतीको सामाना गर्दै छौँ।


।’

‘लाखौँ नेपाली युवाहरु विदेशिनु पीडाबाट नेपाल अहिले गुज्रिरहेको छ। यद्यपी यसले रेमिट्यान्स त दिएको छ तर त्यो भन्दा ठूलो क्षति पारिवारिक विखण्डनसमेत दिएको छ,’ उनले भने, ‘यसबाट नेपाली समाजमा जे जति विकृतिहरु विसंगतीहरु  र पीडाहरु हामीले भोगेका छौँ मूल्यमा यसलाई हिसाब गर्‍यौँ भने रेमिट्यान्स भन्दा ठूलो मूल्य हामीले चुकाएका छौँ।’  प्रचण्डले भने, ‘विदेशिएका लाखौँ नेपालीलाई नेपाल फर्किनु पर्‍यो भनेर मात्रै नेपाल फर्किने स्थिति छैन। हामीले देशभित्र उद्योग व्यवसाय र देशभित्रै रोजगारीको शान्ति सुशासनको वातावरण निर्माण गर्नुपर्छ।’

उनले त्यसैका लागि अहिलेको सरकारको नेतृत्व गरेको पार्टी त्यसैमा लागेको समेत बताए। दुई वटा ठूला पार्टीहरुको एकतासमेत त्यसैका लागि भएको उनले बताए।