काठमाडौंः लियोनलाई पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलमा लियोनलाई ५–१ ले पराजित गर्दै पीएसजी फाइनल पुगेको हो ।

पीएसजीका लागि केलियन एमबाप्पेले ह्याट्रिक गरे । यस्तै पाब्लो सराबिया र नेयमारले एक एक गोल गरे । लियोनका लागि मार्टिन टेरीएरले एक गोल गरे ।

खेलको ११ औं मिनेटमा मार्टिनको गोलबाट लियोनले अग्रता बनाएको थियो । १४ औं मिनेटमा पीएसजीका एमबाप्पेले गोल गर्दै खेल बराबरीमा ल्याए । ६४ औं मिनेटमा लियोन १० खेलाडीमा समेटिएपछि पीएसजीले त्यसको पुरै फाइदा निकाल्न सफल भयो । लियोनका फर्नान्डो मार्कलले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।


। त्यसमा प्राप्त पेनाल्टीमा नेयमारले गोल गर्दै पीएसजीलाई खेलमा २–१ को अग्रता दिलाए ।

७० औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पीएसजीलाई खेलमा ३–१ को अग्रता दिलाए । ८१ औं मिनेटमा सराबियाले गोल गर्दै पीएसजीलाई ४–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै ह्याट्रिक पुरा गर्दै पीएसजीलाई ५–१ को जित दिलाए ।

अब पीएसजीले रेनस र सेन्ट इट्टीनेबीचको विजेतासँग २६ अप्रिलमा खेल्नेछ ।


प्रकाशित मितिः बिहीबार, फागुन २२, ०८:५२