सिराहाः कर्जन्हा नगरपालिका–३ बन्दीपुरमा लुकाई छिपाई राखेको काठ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

स्थानीय ३५ वर्षीय राम बृक्ष महत्तोको घरमा लुकाई छिपाई राखेको विभिन्न साईजको अन्दाजी ७५ दशमलव १७ क्यूफिट काठ सहित राम बृक्षको स–मिल तथा फर्निचरमा काम गर्ने धनुषा क्षिरेश्वर नगरपालिका–५ घर भएका २४ वर्षीय रोसन कुमार महत्तोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महत्तोले अबैध रुपमा स–मिल तथा फर्निचर संचालन गरी सालको काठ चिरान गरी बिक्री बितरण गर्नको लागि आफ्नै घरमा काठ लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको काठहरु र काठ चिरान गर्न प्रयोग हुने विभिन्न मेसिनरी औजारहरु ९ थान समेत फेला पारेको हो ।


बरामद काठ सहित रोशन कुमार महत्तोलाई आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय लहान सिराहा पठाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।


प्रकाशित मितिः शनिबार, असार ६, २०७७, ०७:२१