बुटवलः प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्ष चलिरहदा बुद्ध जन्मस्थल लुम्बिनी पुगेका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले लुम्बिनीभित्र जे देखे र भोगे त्यसले उनलाई खिन्न बनायो । तिलोत्तमाको लगानी सम्मेलनमा भाग लिन रुपन्देही आएका बेला असोज ८ गते उनी लुम्बिनी पुगेका थिए । लुम्बिनीमा उनले यत्रतत्र लेउ लागेको देखे ।

फोहोर, झाडी, धुलो र हिलोले लुम्बिनी भ्रमण वर्ष र पर्यटन वर्ष २०२० को तयारीलाई गिज्याइरहेको अनुभूति गरे । ‘विश्वमा नेपाललाई चिनाउने महत्वपूर्ण पर्यटकीय स्थलको सरसफाइ नै गर्न सक्दैनौ भने विदेशीलाई के देखाउन नेपाल बोलाउने ?’ सम्मेलनको औपचारिक समारोहमै मुख्यमन्त्री पौडेलले प्रश्न गरे ।


। भ्रमण वर्षको तयारीमा लागेको भनिएका संघ र प्रदेश सरकार कहाँ छन् भन्ने प्रश्न लुम्बिनी पुग्दा स्वभाविक लाग्ने टिप्पणी उनको थियो ।

मुख्यमन्त्री पौडेलले भनेजस्तै प्रदेश ५ को लुम्बिनी भ्रमण वर्ष र नेपाल भ्रमण वर्षको तयारीले लुम्बिनीलाई छोएकै छैन। लुम्बिनी भित्रैका बाटाघाटा व्यवस्थित छैनन्। यत्रतत्र फोहोर छ । पानी जमेका खाल्डाखुल्डी, धुलो र झाडीले बुद्ध जन्मस्थलको सौन्दर्य बिगारेको छ ।

मुख्य प्रवेशद्वार, ४ नम्बर गेट तथा बसपार्कबाट पसेपछि शान्ति दीप, मायादेवी मन्दिर तथा अन्य बौद्ध स्तुपा पुग्ने भत्केका बाटा, हिलो, झाडी र लेउले बिरुप देखिन्छन् । मायादेवी मन्दिरको प्रवेशद्वारबाटै जुत्ता चप्पल चोरी हुन्छ। आइतबार गेट अगाडि एक जना श्रीलंकाली पर्यटक चप्पल हराएर खोजिरहेका भेटिए। मूल प्रवेशद्वारमा नेपाल प्रहरी, सशस्त्र र लुम्बिनी विकास कोषका सुरक्षा गार्ड छन् । तर, तिनले जुत्ता चप्पल हराउने समस्या सामान्य भएको बताए । कोषका सुरक्षा गार्ड शैलेन्द्र गुप्ताले जुत्ता चप्पल चोरिने, साटिने समस्या नौलो र ठूलो विषय नभएको प्रतिक्रिया दिए । यो समाचार आजको नागरिकको आर्थिकले ख पृष्ठमा छापेको छ ।


प्रकाशित मितिः बुधबार, असोज १५, ०७:२९