७० वर्ष पुरानो इतिहास बोकेको आन्तरिक सुरक्षा व्यवस्थापनको राज्यको पहिलो अङ्ग , नेपाल प्रहरीको २६ औँ प्रहरी प्रमुखमा संगठित अपराध, भ्रष्टाचार, कालोबजारी, हिडन क्राइमको उजागर, गुण्डाराज (डनवाद) को अन्त्य, ठूलाठूला नागरिक तथा राजनीतिक आन्दोलनको व्यवस्थापन, मोभ साइकोलोजी र मोभ डाइनामिक बुझ्न सक्ने आन्तरिक तथा बाह्य प्रहरीमैत्री वातावरण सृजना गर्न सक्ने एक प्रखर वक्ता , कुशल व्यावसायिक, बेनोभोलेन्ट , बोल्ड, जोखिमसँग खेल्न रुचाउने दूरदर्शी व्यक्तित्व, खटिएको कार्यक्षेत्रमा नेपाली जनताको मन र मस्तिस्क जित्न सफल सर्वेन्द्र खनाल नियुक्त भएका छन् ।

इतिहासको यस संवेदनशील घडीमा उनका लागि यो केवल नेतृत्व सम्हाल्ने समय मात्र नभई चरम राजनीतिक हस्तक्षेपबाट थिलोथिलो भएको संगठन, चेन अफ कमान्ड र अनुशासनमा भएको हरास , खस्किएको प्रहरीको मनोबल , चरम आन्तरिक गुटबन्दीबाट देखिएको बेथितिलाई थितिमा ल्याउनु उनको चुनौती हो ।


। संघीय प्रहरीको कार्यान्वयन र भावी पिढीको लागि मार्गदर्शन गर्ने एैतिहासिक अवसर भएकाले संघीय प्रहरीको वैज्ञानिक कार्यान्वयनमा त्रुटिरहित तरिकाले व्यवस्थापन गर्न संघीय प्रहरी कार्यान्वयन विज्ञ समूह (थिङ्क ट्याङ्क) गठन गर्नु समय सान्दर्भिक हुन सक्छ ।

१. संघीय प्रहरीको व्यवस्थापन

मुलुक केन्द्रिकृत एकात्मक राज्य प्रणलीबाट संघात्मक लोकतान्त्रीक गणतन्त्र राज्य प्रणालीमा रुपान्तरित भइसकेको अवस्था छ । एकात्मक राज्य प्रणालीमा रहेका पुराना खाले अवधारणाका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका संरचनालाई संघीय अवधारणाको संरचनामा ढाल्ने सुरुवात मात्र हैन अब अभ्यास र कार्यान्वयन क्रमिक रुपमा भइरहेका छन् ।

केन्द्र प्रदेश र स्थानीय तहका निर्वाचन संघीय अवधारणा अनुसार सम्पन्न भइसकेका छन् । प्रशासन सेवाको पुनःसंरचनाको व्यापक तयारी र कार्यान्वयन भैरहेको छ । नवगठित केन्द्रीय सरकार र प्रदेश सरकार आफ्नो सरकार निर्माण र भौतिक व्यवस्थापनमा कर्मचारी व्यवस्थापन, आर्थिक व्यवस्थापनको सुद्ढीकरणमा लागिरहेका छन् ।

नेपाल एक स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता र हरेक व्यक्तिको सार्वभौम अधिकार सम्पन्न अभिभाज्य मुलुक हो । केन्द्रीकृत र एकात्मक राज्य प्रणलीबाट मुलुक संघीय लोकतान्त्रीक गणतन्त्रात्मक शासन प्रणालीमा रुपान्तरित भैसकेको अवस्थामा अब हरेक नेपालीको चहाना शान्ति, असल प्रशासन, विकास र समृद्धिको अपेक्षा हो ।

नेपाल एक बहुभाषिक, बहुजातीय, क्षेत्र, धर्म, लिङ्ग, बहुसांस्कृतिक र विविध भौगोलिक विशिष्टता भएकाले विविधतालाई एकतामा बाँध्नु आजको आवश्यकता छ । लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, आधारभुत मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता अशल शासनको अवधाराणा, सामाजिक न्यायको सुनिश्चिचता जरुरी छ ।

विविध भाषा, जात, जाति, धर्म, क्षेत्र, दलित, उत्पीडित आफ्नो हक अधिकारको सुनिश्चितताको लागि आवाज उठाउनु विरोध प्रदर्शनमा उत्रिनु, आम हड्ताल गर्नु लोकतन्त्रको विशेषता हो । केन्द्रदेखि प्रदेश र स्थायी स्तरसम्म दूरदराजमा पनि नेटवर्क भएको नेपाल प्रहरी भएकाले यसको राज्य सञ्चालनमा आफ्नै महत्व छ । यसै परिवेशमा नेपाल प्रहरीलाई संघीय प्रहरीको संरचनामा रुपान्तरित गर्ने प्रयास र अभ्यास पनि भैरहेका छन्।

नेपाल प्रहरीको पुरानो संरचना २०१२ को ऐन नियम कानुनबाट रुपान्तरित हुँदै संघीय प्रहरीको संरचनामा प्रवेश मात्र होइन आफ्नो अभ्यास प्रारम्भिक अवस्थामा रहेकाले पूर्वप्रहरी महानिरीक्षकको संयोजकत्वमा गठित कार्यदल संघीय प्रहरीको प्रतिवेदन अनुसार कार्यान्वयनको प्रारम्भिक अवस्थामा रहेको छ । प्रतिवेदनको अध्यनबाट वेस्टर्न मोडलको संघीय प्रहरी संरचना देखिन्छ । नेपालको राजनीति भूराजनीतिक धरातल ७० वर्ष पुरानो प्रहरीको कार्यनीति र कार्यशैलीको प्रभाव छिमेकी राष्ट्र भारत सँगको प्रहरी प्रशासन र आइपिएस तालिमको प्रभाव प्रहरी अधिकृतको मनोविज्ञान, आम राजनीतिक पार्टी, जनता र प्रसाशनको बुझाइ र तर्क वितर्कहररूले कार्यान्वयनमा तालमेल नखाने हो कि भन्ने आभास देखिएका छन् ।केन्द्रीय प्रहरी र प्रदेश प्रहरी को नितीगत तालमेल, प्रदेश प्रदेश प्रहरीबीचको समन्वय, सहकार्य र शान्ती सुरक्षा कायम गर्ने सवालमा केन्द्र,प्रदेश र स्थानिय तहमा रहेका प्रशासन र प्रहरी बीचको कानुनी बाधा अड्चनको व्यवस्थापनमा पनि समस्या छ । केन्द्रीय प्रहरी प्रमुख डिजी राख्ने कि आइजी राख्ने, प्रदेश प्रमुखमा आईजी, एआईजी वा डिआईजी राख्ने भन्ने विवाद कायम नै छ । यस अवस्थामा राष्ट्रिय अन्तराष्ट्रिय मान्यतालाई आधार मानेर व्यवस्थापन गर्नु आजको माग हो । नयाँ फोर्स लाइन, मिक्स र स्टाफ युनिटको निर्माण वर्गीकरण, तिनीहरुको नीति निर्माणमा भूमिका र व्यवस्थापन पनि महत्वपूर्ण विषय हो ।

स्वतन्त्र भारतको पहिलो गृहमन्त्री बल्लभ भाइ पटेलले प्रहरीको राष्ट्र निर्माणमा बहुआयामिक भूमिकाको मनन गर्दै संवैधानिक व्यवस्था र आइपीएसको प्रारम्भ गर्दै आन्तरिक सुरक्षा व्यवस्थापनमा केन्द्रीय सरकारले प्रदेश सरकारलाई निर्देशन, समन्वय र सहकार्य र विशेष परिस्थितिमा हस्तक्षेप गर्ने संवैधानिक प्रवधान राखेर राज्यको आन्तरिक सुरक्षा व्यवस्थापनमा सुनौलो उदाहरण दिएका छन् ।

नेपालको भू–राजनीति, छिमेकी राष्ट्रहरुको संघीय प्रहरी अभ्यास र उनीहरुसँगको सहकार्य , राजनीतिक , सामाजिक , सामरिक , मानव संसाधन आमनागरिक र प्रहरीको समेत मनोविज्ञानलाई आधार मान्दै संघीय प्रहरीको अवधारणा कार्यान्वयन हुनुपर्ने देखिन्छ ।

प्रहरी बीचको समन्वय नीति निर्माणलगायत विविध विषयमा सेन्ट«ल पुलिसले स्टेट पुलिसलाई गर्नसक्ने समन्वय, सहकार्य , निर्देशन र विशेष परिस्थितिमा हस्तक्षेप गर्न सक्ने संवैधानिक व्यवस्था नेपालको परिवेशमा सान्दार्भिक हुन सक्छ ।

महानगरीय प्रहरीलाई अर्धन्यायिक अधिकार नदिएर केवल बोर्डमा मात्र सीमित राखिएको छ । प्रहरीको सरुवा बढुवाजस्ता विषयलाई राजनीतिक पेवा बनाएको छ । राजनीतिलाई अपराधीकरण र अपराधीलाई राजनीतिकरण गरिएको छ । प्रचलित ऐन कानुनलाई राजनीतिक शक्ति जो सरकारमा छ उस्तै आफू अनुकूल व्याख्या गरी अपराध र अपराधीको कानुनी परिभाषालाई धज्जी उढाउँदै मौसमी गराइएको छ ।
यस्तो बेथिति अवस्थामा संघीय प्रहरीको कार्यान्वयन गर्ने अभिभारा २६ औं आइजीपीको छ । यो सुनौलो अवसरमा आफ्नो क्षमता प्रदर्शन गरी भावी सन्ततिलाई असल बाटो देखाई स्वार्णिम इतिहास बनाउने बेला पनि छ ।

नीतिगत रुपमै राजनैतिक स्वार्थ र केही व्यक्तिलाई व्यवस्थापन गर्न गृह मन्त्रालयले आफ्नो अनुकूलको र आफ्ना कर्मचारीको अनुकूलतालाई हेरेर नियामावलीमा परिर्वतन गर्ने, राजनीतिक पार्टीहरुले आफ्नो अनुकूलताको व्यक्तिलाई प्रमोसन र विशेष ठाउँमा नियुक्ति गर्ने , व्यवसायिकता, दक्षता र नेतृत्व गर्न सक्ने क्षमतावानलाई जीम्मेवारीबाट वञ्चित गर्ने जस्ता चरम दुरुपयोग गर्ने परिवेश छ ।

२. आन्तरिक व्यवस्थापन

संघीय प्रहरीमा मानव संसाधनको व्यवस्थापनलगायत भौतिक पूर्वाधार, सवारी साधन, तालिम, रासन व्यवस्थापन प्रहरीको मिसनका साथै नेपाल प्रहरीमा पूर्ण राजनीतिक हस्तक्षेपबाट ग्रसित र विगत केही समयदेखि नेतृत्वमा देखिएको अकर्मन्यताको कारण चेन अफ कमान्डमा देखिएको खिया, संगठनका सदस्यहरु संगठन र संगठन प्रमुखप्रतिको लोयालिटीभन्दा राजनीतिक शासकको ढोका चहार्ने प्रवृत्ति बढेको छ । कार्यक्षमताको वृद्धि र क्षमताको प्रदर्शनभन्दा पनि नेता र दलालहरुको चाकडीमा बढी समय खर्चिने प्रवितृत्तिको हाबी छ ।

यस रोगबाट ग्रसित अवस्थालाई सुधार गरी संगठन र संगठनका सकल फौजलाई पुनरजीवन दिनुपर्ने अवस्था छ । प्रहरीभित्रका गोप्य कुरा बाहिर ल्याउने, एकले अर्काको खुट्टा काट्ने प्रवित्तिका कारण फौजका सिपाहीहरुमा उत्साह जाँगर , जोस उमंग र सिर्जनात्मक काम गर्ने सोच हराएको छ । यस परिस्थितिबाट सकल दर्जालाई अलग गर्नुपर्ने अवस्था छ । उनको वृति विकासमा प्रोत्सान स्वरुप विदेश तालिम, व्यक्तिगत वेलफेयर, बिदा, भेदभाव, दलित , पिछिडिएको वर्ग र विशेषतः महिला प्रहरीको विभेद र स्वतन्त्रता, व्यारेक रासनको व्यवस्थापन, स्वास्थ्य उपचारमा पुलिस अस्पतालको सेवा भावना, प्रहरी विद्यालयको शैक्षिक वातावरण, प्रहरी कर्मचारीका छोराछोरीको व्यवस्थापन, साना सदस्यहरुप्रति देखाउनुपर्ने सद्भाव र संगठनभित्रका सदस्यबीच भाइचाराको वातावरण सिर्जना गर्नुपर्ने आवश्यक्ता छ ।

वास्वमा संगठन प्रमुखका आफ्नै विशेष कार्ययोजना मिसन अवजेक्टिभ र गोल हुन्छ । हरेक संगठन प्रमुखले आफू संघठन प्रमुख भइसके पछि आफ्नो कार्यकालका कार्ययोजना पूरा नगरी घोषणामा मात्र सिमित राखि ती कागजी घोषणालाई बन्द दराजमा थन्काउने पुरानो प्रवृद्धि नेपाल प्रहरीमा छ । तर त्यो पुरानो प्रवृतिबाट माथि उठी अब कागजी घोषणा मात्र  होइन त्यो घोषणा र दस्ताबेजमा उल्लेख भएका विषय बस्तुलाई प्रहरी कर्मचारी र आमनागरिकले अनुभूती  गर्ने वातावरण सिर्जना गर्नुपर्ने देखिन्छ । प्रहरीको व्यवहार , आचरण र शिष्टतामा आमूल परिवर्तन ल्याउनुपर्ने देखिन्छ । प्रहरी र अपराधीसँगको साँठगाँठ, दबाब र कानुन नियन्त्रणको नाममा गरिने भ्रष्टाचार, संगठित रुपमै अपराधी, तस्कर र प्र्रहरीबीचको साँठगाँठ, गुण्डा वा डनहरुसँग प्रहरीको सम्बन्ध,अन्त्य गर्नु र आर्थिक पारदर्शिता समयको माग हो ।

३. विशेष परिस्थितिको व्यवस्थापन

संघीय शासन प्रणलीसँग विमत रहेका पार्टी वा समूहबाट विरोध प्रदर्शनलगायत अन्य समूहबाट सिर्जित विसम परिस्थितिको व्यवस्थापनको सुरक्षा रणनीतिका अलावा साम्प्रदायिक सद्भाव खलबलाउने, विखण्डनकारी समूह , जातीय तथा धार्मिक द्वन्द्व, आन्तरिक विद्रोह, महाविपत्ति, नागरिक अवज्ञाजस्ता विसम परिस्थितिको व्यवस्थापन गर्नका लागि मानव संसाधन र वैज्ञानिक सुरक्षा रणनीतिको निर्माण तथा व्यवस्थापन, संघीय प्रहरी व्यवस्थापनमा विज्ञ समूह गठन, जनतासँगको सहकार्य, सामथ्र्यवान् पुलिस अफिसर टिमको निर्माण, इनफर्मेसन टेक्नोलोजीको केन्द्रदेखि प्रान्तसम्म व्यवस्थापन, विज्ञान र प्रविधिमा आधारित अनुसन्धान , अनुशासनहीन र भ्रष्ट समूहविरुद्ध शून्य सहनशीलता, नयाँ गतिशील र प्रभावकारी योजना, महानगरीय प्रहरीलाई अर्धन्यायिक अधिकारसहितको व्यवस्थापन, डिजास्टर म्यानेजमेन्ट र क्विक रेसपोन्स टिमका लागि हेलिकप्टर , एकीकृत सूचना प्रवाहको व्यवस्था , इन्ट्रा र इन्टर कोलाबरेसनमा जोड, सकल दर्जालाई संघीय प्रहरीको अवधारणा र सोचअनुसारको व्यवहारमा परिवर्तन, ट्रिगर ह्याप्पी मसल्स ओरिएन्टेड पुलिसिङलाई बिहेबियर एन्ड पब्लिक सर्भिस ओरिएन्टेड पुलिङमा रुपान्तरित गर्नु , राजनैतिक हस्तक्षेपलाई पूर्ण रुपमा निस्तेज पार्दै अधिकृत तथा जवानलाई संगठनप्रति उत्तरदायी बनाउन र उच्च मनोबलका लागि नीति तर्जुमा गर्नु , विशेषतः द्वन्द्वपीडित परिवार र घाइते प्रहरीको समुचित सम्मान गर्नु व्यवस्थापनको पाटो हो ।

(लेखक नेपाल प्रहरीका पूर्व वरिष्ठ उपरीक्षक विक्रम सिंह थापा पूर्ण शान्ति पुरस्कारबाट समेत सम्मानित छन्। )