काठमाडौं:  प्रधानमन्त्री केपी ओलीले ६ महिना भित्र प्रधानमन्त्री कार्यालयबाट कागजी ढड्डा प्रणाली हटाइने घोषणा गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनको १२औँ महाधिवेशन बुधबार राजधानीको राष्ट्रिय सभागृहमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ल्यापटप चलाउन नजान्ने मन्त्रीलाई पदबाटै बिदा गरिने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले भने ‘मैले मन्त्रीपरिषदमा भनि सकेको छु, अब कागजको ढ्ड्डा राख्दैंनौं, बैठक सुरु हुने बित्तिकै ल्यापटपमा कार्यक्रम/एजेण्डा आउँछ ।’ ६ महिना भित्र मन्त्रीपरिषदको बैठकलाई कागजी ढड्डा मुक्त बनाउने उनले घोषणा गरेका हुन् ।

‘६ महिना सम्म मन्त्रीजीहरुले सहयोगीको सहयोग लिन सक्नुहुन्छ,’ उनले थपे, ‘६ महिना पछि आफैं ल्यापटप चलाउन नजाने अर्को चान्समा सिकेर आउनु होला, यहि ल्यापटव लिएर जानु भनेर बिदा गरिन्छ ।


।’

देशको हरेक क्षेत्रलाई स्मार्ट बनाउँदै लगिने प्रधानमन्त्रीको दावी थियो । ल्यापटप चलाउन नजान्ने मन्त्रीहरुलाई बिदाई गरेजस्तै पढाउन नसक्ने शिक्षकहरुलाई पनि बिदाई गरिने उनको भनाई थियो । ‘सिकाईलाई प्रविधिमैत्री बनाउनु आवश्यक छ,’ उनले भने, ‘पढाई सकेपछि रोजगारी खोज्ने होइन, जागिरले योग्य जनशक्ति खोज्दै आउने वातावरण बनाईन्छ ।’ विद्यार्थीलाई आधुनिक, प्रतिस्पर्धी, गुणात्मक, उत्पादनमुखि शिक्षा दिनसक्नु पर्नेमा उनले जोड दिए ।