काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालय स्तरीय विपद् व्यवस्थापन समन्वय समिति गठन गरेको छ। अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट हुने जोखिम न्यूनिकरणका लागि सोमबार मन्त्रालय स्तरीय विपद् व्यवस्थापन समन्वय समिति गठन गरेको हो।

बाढी, पहिरो र डुबानलगायतको जोखिमबारे सर्वसाधारणलाई मन्त्रालयको तर्फबाट पूर्वसावधानीका लागि आवश्यक सर्तक गराउने उद्देश्यका साथ विपद् व्यवस्थापन समन्वय समिति गठन गर्नु परेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए। मन्त्रालय अन्तर्गतको जलस्रोत महाशाखाका प्रमुख महेश्वरनरसिंह केसीको नेतृत्वमा गठित समितिमा जल तथा मौसम विज्ञान विभाग, जलस्रोत तथा सिँचाइ विभाग, विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण र जल उत्पन्न प्रकोप व्यवस्थापन शाखाका प्रमुखहरू रहेका छन्।


। वर्षाका कारण हुने जोखिम न्यूनिकरण र विभिन्न पूर्वाधारहरूको आपत्तकालीन संरक्षण गर्न सो समिति गठन गरिएको पनि मन्त्री पुनले स्पष्ट पारे। उनले समितिले मौसमको पूर्वानुमान र वर्षाका कारण हुने समस्याबारेमा चौविसै घण्टा पूर्वसूचना दिने व्यवस्था मिलाइएको बताए।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डुबान भएका ठाउँहरूमा मानवीय क्षति हुन नदिन विद्युत आपूर्ति बन्द गर्नेलगायतका सावधानी अपनाइएको जानकारी दिए। उनले हालसम्म विद्युत सवस्टेशन बन्द हुने गरी डुबान समस्या नदेखिएको बताए। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले बाढी, पहिरो र डुबान हुने ठाउँहरूमा उच्च सर्तकता अपनाउन पनि सर्वसाधारणलाई अपिल गरेको छ।