काठमाडौं: वाग्मती नदी नेपाली जनताको संस्कार संस्कृतिसँग जोडिएको छ । सर्वसाधारणको मरणोपरान्त पशुपति आर्यघाटको ब्रह्मनालमा शवलाई सुताएर पवित्र गर्न वाग्मतीको जल सेचन गरिन्छ । जल सेचनपछि मात्रै शवको दाहसंस्कार गर्ने गरिन्छ । अर्को, भगवान् पशुपतिनाथलाई त्यही वाग्मतीको जल चढाउने धार्मिक मान्यता छ । वाग्मतीको किनारमा श्राद्ध तथा अन्य धार्मिक यज्ञ अनुष्ठान भइरहन्छन् । यस्तो महत्वपूर्ण नदीमा सीधै ढल मिसाउन दिनु नै गलत थियो । अझ त्यसलाई सफा गर्न १५ अर्बको ठूलो बजेट खर्च गर्दा पनि त्यसको प्रतिफल नदेखिनु अत्यन्तै गम्भीर कुरा हो । पशुपति विकास कोश कार्यरत छ, सरकारले पनि यो क्षेत्रको विकासकार्यलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइँदै आएको छ ।


। अर्को, राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य उच्चपदस्थ व्यक्तिहरु समयसमयमा पशुपति क्षेत्रमा गइरहे पनि उनीहरु यस्तो धार्मिक महत्वको क्षेत्रप्रति किन मौन हुन्छन् ? सम्बन्धित निकायलाई यस क्षेत्रमा काम गर्न दबाब दिन सकिन्थ्यो, केही अप्ठयारा नै आए पनि पशुपति आर्यघाट क्षेत्रको वाग्मतीको जल सफा गर्न अन्य कुनै वैकल्पिक योजना बनाएर धार्मिक आस्थाको केन्द्र स्वच्छ राख्न सकिन्थ्यो तर सबै निकाय मौन छन्, किन ? यो अचम्मको विषय बनेको छ ।

यसै प्रसंगमा वागमती नदी सरसफाइको बिशेष जिम्मेबारी पाएको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका उप-आयोजना प्रमुख योगेन्द्र चित्रकारसंग नेपालताराका आशिष पौडेलले गरेको कुराकारीको छोटो अंश-

वाग्मती नदी सफा र व्यवस्थित बनाउने योजनामा अधिकार सम्पन्न वाग्मती सभ्यता तथा सरसफाइ आयोगले कहिलेदेखि काम सुरु गरेको हो र कहिलेसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ ? यसको सीमा कति छ ?

२०५१ सालअघि नै वाग्मतीको अवस्था बिग्रिएको थियो । यो देखेर अहिले रास्ट्रपति रहनुभएकी विध्यादेवी भण्डारीको अगुवाइमा एउटा समिति गठन भएको थियो। पशुपति क्षेत्र वातावरणीय सुधार तथा ढल निकास अनुगमन समिति भनेर । यो संस्था २०५१ सालमा नै स्थापना भएको हो। यसको मुख्य उद्धेश्य भनेको पशुपति क्षेत्रसम्मको वाग्मतीलाई सफा बनाउने, ढलमुक्त गर्ने भन्ने थियो ।

पशुपतिमा आउने भक्तजनहरुले सहज रुपमा जल सेचन गर्न सकुन् भन्ने उद्धेश्यले यो कामको सुरुवात गरिएको हो । काम सुरु भएपछि गोकर्णदेखि पशुपतिसम्मको दाँया किनारामा ढलको पाइप हाल्ने काम पनि सम्पन्न भएको हो । यसका साथै बस्तीहरुको सहायक ढलसमेत त्यससगै मिसाइएर ल्याइएको हो । त्यसरी मुख्य ढलमा जोडिएर आएको ढललाई कार्यालयको प्राङ्गणमा रहेको ढल प्रशोधन केन्द्रबाट सुद्ध बनार्इ नदीमा पानि हालिएको हो ।

यसरी वाग्मतीलाई ढलमुक्त बनाइएको थियोतर अहिले व्यापक रुपमा बढिरहेको जन्संख्या वृद्धिका कारण उक्त ढल प्रशोधन केन्द्रको क्षमाताभन्दा बढी ढल आयो । एयसले गर्दा पशुपतिसम्मको ढललाई वाग्मतीमा नमिसिने गरी तिलगंगा पुल नजिकै लगेर खसालिएको छ । यो अहिले सञ्चालनको अवस्थामै छ।

२०६५ सालमा आएर नेपाल सरकारले वाग्मतीमा मिसिने अन्य सातवटा सहायक नदीको ढल व्यवस्थापनको जिम्मा पनि यसैलाई दिएकाले सोही अनुसार काम भइरहेको छ । हाल काठमाडौं उपत्यकाको धोवीखोला, वाग्मती, र विष्णुमतीमा काम भइरहेको छ। जसअन्तर्गत हालसम्म धोवी खोला र विष्णुमतीमा ६–६ किलोमिटर काम भएको छ । वागमती नदीको हकमा सहायक ढलसमेत गरेर करिब ५० किलोमिटर ढल हालेर सकिएको छ भने  १४ किलोमिटर बराबरको सडक निर्माण समेत भएको छ । यो ढल निकासको हालको लक्ष्य भनेको सुन्दरीघाटसम्मको हो ।

सातवटै नदीको ढल निकासको व्यवस्थापन गर्दासम्म जम्मा कति किलोमिटर काम हुनेछ ? अहिले सम्मको अवस्थालाई हेर्दा कति प्रतिशत काम भएको छ ?

काठमाडौं उपत्याकाको मात्र कुरा गर्ने हो भने जम्मा २०० किलोमिटर जति ढल हुन आउँछ । यो भनेको मुख्य ढल हो। यसलाई इन्टरसेक्टर भनिन्छ । इन्टरसेक्टर भनेको बस्तीबाट आएको ढल खोलामा पस्न नदिइकनै बीचैमा रोक्ने काम भन्ने बुझिन्छ । यसरी नदीबाट व्यवस्थित गरिएको ढल धोवीघाटस्थित काठमाडौं उपत्यका खानेपानी कम्पनी लिमिटेडको ढल प्रशोधन केन्द्र बनाउने योजना रहेको करिब १०० रोपनी जग्गा छ । त्यहाँसम्म यसलाई पुरयाइनेछ। त्यहाँ अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गत परियोजना कार्यान्वयन विभाग (पिआइडि) ले ढल प्रशोधन केन्द्र निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । पिआइडिले अहिले काठमाडौं उपत्यकाभरिको ढल व्यवस्थापन र प्रशोधन केन्द्र स्थापनाको लागि जिम्मा लिएको छ।

मुख्य जिम्मेबारी पाएको यो समितिले ढल निकासको कामलाई प्रभावकारिताका साथ गर्न सकेन, तिलगंगामा ल्याएर अड्काइयो भनिन्छ नि ? यसलाई कसरी लिनुभएको छ ?

यो भनेको गलत बुझाइ भयो । अहिलेको अवस्थामा गोकर्णदेखि सुन्दरीघाटसम्म सञ्चालनको अवस्थामा आइसकेको छ। यसरी ढल निर्माणका क्रममा प्राबवधिक कठिनाइ रहेको स्थानमा काम हुँदै गरेकाले ढल भने नदीमै मिसिन गएको हो । तर सबै ठाउँमा त्यसरी नदीमै ढल खसालिएको भने छैन र पहिलेको अवस्थालाई हेर्ने हो भने अहिले निकै सुधार आएको छ।

उहाँहरुले भने जस्तै अहिले मनोहरा दोभानबाट चाँहि यसमा समस्या आएको हो। यसलाई स्वीकार गर्न सकिन्छ। यसका लागि मनोहरा खोलाको ढल निकासको काम पिआइडिमार्फत भैरहेको छ। त्यो काम नसकिएकाले वाग्मतीमा ढल देखिएको हो । यसका साथै काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट वर्षायाममा पानीको मात्रा बढेर ओभर फ्लो हुने र ढल जोड्ने काम पनि कुनै–कुनै क्षेत्रमा बाँकी रहेकाले यो समस्या देखिएको हो। त्यसकारण उहाँहरुको भनाइलाई हामीले यसरी बुझ्नुपर्छ ।

तर, ढल निकासको काम सकियो भनेको ठाउँमा पुन ढल मिसिएको पाइएको छ। यसको कारण के हो ? के ढल निकाससम्बन्धी काम गर्ने निकायहरु एक–अर्काबीच समन्वय नभएकै हो त ?

यो ढल निकास एउटा जटिल कुरा हो । यसलाई कुनै एक निकायले मात्र जिम्मा लिएको भए यस्तो अवस्था कम हुने थियो । हाल ढल निकासमा काम गर्ने निकाय करिब ७–८ वटाको संख्यामा रहेका छन् । जसमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महानगरपालिका, नगरपालिका, उपत्यका विकास प्राधिकरण, सडक, उपभोक्ता समितिलगायत हाउजिङ अपार्टमेन्टहरु पनि यससँग सम्बन्धित छन् ।

यी सम्बन्धित निकायहरुबीच हाल समन्वयनचाहिँ नभएको देखिन्छ । यसरी काम गर्ने निकायले जथाभावी पाइप जोडिदिने अवस्था छ । यसले गर्दा उक्त समस्या देखिएको हो । जस्तै– उहाँहरुले २ फिटको पाइको ढल १ फिटको ढल आइरहेको ठाउमा लगेर जोड्नुहुन्छ । यसले गर्दा ढल फुट्ने समस्या देखिएको हो । अझ पनि एक–अर्काबीच समन्वयन नहुने हो भने अरु जटिल अवस्थासमेत उत्पन्न हुनसक्छ। तर समन्वयमा काम हुने हो भने काठमाडौं उपत्यकालाई ढलमुक्त बनाउन सकिन्छ।

यसरी काम गर्ने ७–८ वटा निकाय छन् भन्नुहुन्छ, कुन–कुन निकायले कोसँग समन्वय गर्नुपर्ने हो ?

ढल भनेको पानीसँग सम्बन्धित विषय हो । उपत्यकाको खानेपानीको मुख्य जिम्मेवार भनेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड हो । उसले खाने पानीसँगै ढलबापतको शुल्कसमेत उठाउँदै आएकाले काठमाडौं उपत्यका खानेपानी लिमिटेडले नै यसको नेतृत्व गरेर काठमाडौं उपत्यका भरिको ढल व्यवस्थापनलाई व्यवस्थित गर्ने जिम्मा लिनुपर्छ । तर कुन कारणले हो उसले पाएको जिम्मेवारी सही तवरले पूरा गरेको देखिन्न।

यसका लागि कति बजेट अनुमान गरिएको छ ? बजेट के कसरी छुट्याएको छ ?

विसं २०६५ सालमा वाग्मती कार्ययोजना भनेर क्याबिनेटबाट पारित भएको छ, हामी त्यसैअन्तर्गत रहेर काम गर्दै आइरहेका छौं । त्यस्तै, वाग्मती नदीसँग सम्बन्धित कुराहरु, वातावरण, ढल, खानेपानीलगायतका विभिन्न २० वटा निकायबाट एकमुसष्ट वाग्मतीमा सुधार ल्याउनका लागि एक्सन प्लानबाट १५ अर्ब छुट्याइएको छ । यही बजेटभित्र रहेर अहिले काम भइरहेको छ। २०५१ सालदेखि हालसम्म आउँदा ५ अर्ब रुपैयाँ बराबर खर्च भइसकेको छ । यो भनेको भौतिक पूर्वाधार, जग्गा अधिग्रहण, ढल प्रशोधन केन्द्र मर्मत सम्हार र सञ्चालन साथै यस समितिमा काम गर्ने करारका कर्मचारिहरुको पारिश्रमिकसहित हो ।

यसरी विभिन्न निकायबाट काम हुँदै आएको वर्षौं भएको छ, अर्बौं खर्चसमेत भइसकेको छ । यो काम कहिले सकिन्छ ? काठमाडौंका जनताले सफा नदी र सफा सहर कहिले देख्न पाउँछन् ?

निकै महत्वपूर्ण प्रश्न गर्नुभयो । वाग्मती एउटा मात्र खोला होइन । यसमा सहायक नदी सातवटा छन् भने त्यसमा पनि अन्य ६०–६५ खोल्साहरु मिसिन आउँछन् । यसलाई हेर्दा काठमाडौ उपत्यकामा बढिरहेको सहरीकरण र त्यहाँबाट उत्पन्न हुने ढललाई व्यवस्थित गर्न सकिएन भने वाग्मतीलार्इ जति प्राथमिकता दिएर काम गरे पनि सफलता पाउन सकिंदैन जसका लागि जिम्मेबार निकाय भनेको स्थानीय सरकार हो । सरकारले लागू गरेको भवन निर्माण आचार संहिता अनुसार सेफ्टी टेंकी अनिवार्य गराउन सके र यसरी काठमाडौंवासीले खोलामा जथाभावी ढल मिसाउने प्रवृतत्तमा कडाइका साथ निरुत्साहित गराउन सके मात्र जनताले सफा नदीनाला र सफा सहर महसुस गर्न पाउँछन् । यसका लागि जनतामा सभ्यताको विकास हुनु पनि जरुरी छ ।

आर्यघाटको अन्त्येस्टिको लागि बाग्मती किनारमा  फोहोर पानीमा राखिएको मृत शरीर

Image may contain: one or more people and outdoor

 

भनिन्छ, काठमाडौं कुनै सहर होइन, यो त एउटा बढाइएको गाउँ हो । राजधानी भनेर घोषणा गरिएको काठमाडौंमा सुविधा तथा रोजगारी खोज्दै देशका विभिन्न क्षेत्रबाट मानिसहरु आउन थाले समयसँगै मानिसहरु राजधानी भित्रिने क्रम बढ्दै गयो । नयाँ घरहरु बन्दै गए योसँगै बस्तीहरुको वृद्धि हुँदै एउटा ठूलो गाउँका रुपमा परिणत हुन पुग्यो ।

चारैतीरबाट डाँडाले छेकिएको काठमाडौं डाँडामाथिको एउटा उपकत्यका हो । यहींबाट नै धेरै राजनितिक पार्टीको जन्मभयो र देश विकासको व्यापार पनि यहींबाट नै सुरु भयो । फलस्वरूप राजनीतिको व्यापार बढ्दै गयो बिडम्बना काठमाडौंको अव्यवस्थित कार्यले यसको सौन्दर्यता अझ खस्किन थाल्यो ।

धेरैले यही माटोमा सुन फलाए, मानव विकास भयो र त्यो सँगै सभ्यताको केन्द्रको विनाश हुन थाल्यो । विकासको नामको व्यापारले सफलता पायो तर देशले विकास पाएन । त्यसैको चपेटा काठमाडौं पर्न गयो ।

 

काठमाडौंको नाम आजभोलि फेरिन पुगेको छ । राजधानीको रुपमा रहेको काठमाडौं अहिले ढलमाडौँ मा परिणत हुन पुगेको छ। बढ्दो सहरीकरणसँगै सम्बन्धित निकायहरुले समयमा काम नगर्दा अहिले ढल व्यवस्थापनले विकराल रुप लिएको छ ।
यसैका कारण काठमाडौंका अधिकांश सडकसमेत प्रभावित भएका छन् । जसका कारण काठमाडौं उपत्यकालगायतको वातावरणमा पत्यक्ष असर परिरहेको छ । सहरको ढल सीधै वाग्मतीमा मिसाइँदा विशेषगरी मानिसहरुको मृत्युपछि गरिने अन्तिम संस्कारमा समेत ढलको पानी प्रयोग गर्नुपर्ने बाध्यता छ ।

ढल निकासको विशेष व्यवस्थापन गरी वाग्मती नदीलाइ पूर्ण सफा बनाई सर्वसाधारणले सीधै प्रयोग गर्न सक्ने बनाउन २०५२ सालमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको स्थापना भयो । यति मात्र नभर्इ महानगरपालिका र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलगायत दर्जनौं संघसंस्थाहरु ढल निकास तथा वाग्मती सरसफाइ अभियानमा आबद्ध रहेर काम गरिरहेका छन् । तर यी सम्पूर्ण निकायहरुबीच समन्वयमा काम नहुँदा र आफूखुसी काम गर्दा कुनै पनि उपलब्धि प्राप्त हुन सकेको छैन ।

अर्बौं खर्च भइसक्दा पनि नदीमा परिवर्तन देखिएन

वाग्मती तथा त्यसका सहायकन दीहरुको ढल सफा गर्न हालसम्म अर्बौं रुपैयाँ खर्च भइसकेको छ तर नदीको सफाइमा कुनै परिवर्तन हुन सकेको छैन । वाग्मतीलाई ढलमुक्त गर्दै सफा बनाउने भनिए पनि नदीको अवस्थामा सुधार आएको हो । विशेष गरी पशुपति आर्यघाटमा दाहासंस्कारलगायत गरिने अन्य कार्यका लागि सेचन गर्ने पानीलार्इ शुद्ध बनाउने हिसाबले ढल प्रशोधन केन्द्रसमेत स्थापना गरेको वर्षौं भइसक्यो तर आर्यघाटमा अझै ढल बगेकै छ । मानिसको मृत्यु भइसकेपछि ब्रह्मनाल नजिकै वाग्मती नदीमा लगेर शवलार्इ पवित्र गर्ने संस्कार रहे पनि सो कार्यमा फोहरका कारण सो कार्यमा अवरोध आएको स्थानीय बताउँछन्। वाग्मती नदीलाई वर्षौंदेखि नियाल्दै आएका एकजना पुराजीले भने– ‘अहिले नदी ढलमुक्त छैन ।’ मित्रपार्कबाट सिधै वाग्मती नदीमा ढल मिसिन आएका कारण पनि अझ बढी दुर्गन्धित भएको उनले बताए।

नदीमा अहिले सफा पानी बगेको छैन नजिकैबाट नियाल्ने हो भने पानीमा ढल मिसिएको सजिलै देख्न सकिन्छ । नदी सफा बनाउने भन्दै अर्बौं रुपैयाँ खर्च हुँदासमेत तीव्र बस्ती विकास भइरहेको कारण देखाउँदै नदीमा ढल नियन्त्रण गर्न नसक्नु र अझै पनि जनताले ढल मिश्रित पानीले नै काजकिरिया गर्दासमेत शुद्ध मात्र मानेर गर्नुपने अवस्था सृजना हुनु दुखको कुरा हो। यसतर्फ सम्बन्धित निकायको समयमै ध्यान जानु जरुरी देखिन्छ।

सरसफाइका लागि दर्जनौं संस्थाको नाम दर्ता भए पनि काम भने कछुवाकै गतिमा

यसरी वाग्मतीलाई अधिकार सम्पन्न बनाउने भन्दै काम गर्दै आएको करिब २४ वर्ष भइसकेको छ । हालसम्म आउँदा ३० प्रतिशत मात्र काम भएको देखिन्छ। वाग्मती सरसफाइ तथा ढल निकासका लागि सबैभन्दा पहिले अधिकार पाएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति स्थापना भइसकेपछि पनि थुप्रै संघसंस्थाहरु वाग्मतीलाई स्वच्छ बनाउने एजेन्डासहित दर्ता भएका छन् । तर आजसम्म आउँदा ती संघसंस्था पनि बजेटभित्रै रोमलिएको जस्तो देखिन्छ। ढल निकासमा लागि नेपाल सरकारबाट प्रमुख जिम्मेवारी पाएको काठमाडौ उपत्यका खानेपानी लिमिटेडले ढल निकासका लागि भन्दै रकम उठाउँदै आएको छ तर उक्त रकम करको रुपमा तिर्ने जनताले समेत ढलको सास्तीबाट मुक्ति पाएको अनुभव गर्न सकेका छैनन्।

अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिबाट पनि अहिले करिब ५ अर्ब रुपैयाँ बराबरको रकम वाग्मती सरसफाइका लागि खर्च भइसकेको छ। यो भनेको छुट्याइएको पूर्ण रकमको करिब ३३ दशमलव ३३ प्रतिशत हो। तर कामका आधारमा भन्ने हो भने अब पनि समयमै काम सक्दाको अवस्थामा अझै १० प्रतिशत रकम अभाव हुने देखिन्छ।

बढ्दो सहरीकरणसंगै काममा सफलता पाउन पनि जटिल रहेको कुरा उनीहरुले व्यक्त गर्दै आइरहेको अवस्थामा उहीं २४ वर्षलाई फर्केर हेर्दा र आजसम्म कामले पाएको सफलताका आधारमा भन्ने हो भने अझै पनि कामले तीव्र गति लिन नसक्ने र कछुवाको गति नछोड्ने हो भने अर्बौं रुपैयाँ वाग्मतीको बालुमामै बिलाएर जाने कुरा प्रस्ट हुन्छ।

अहिले वाग्मती सरसफाइ अभियानमा सर्वसाधारणको सहभागिताले तीव्रता पाइरहेको अवस्थामा वाग्मती सरसफाइका नाममा मात्र संस्था दर्ता गर्ने, रकममै रोमलिने तर काम नगर्नाले पनि सर्वासाधारणको वाग्मतीप्रतिको निःस्वार्थी भावनामा ठेससमेत लाग्न सक्ने अवस्था सृजना भएको छ। जिम्मा लिने तर यसरी कामलार्इ ढिलासुस्ती गर्दै समयमै सम्पन्न गर्न नसक्ने संस्थाहरुलाई कानुनी दायरामा ल्याउनुसमेत जरुरी देखिन्छ। वाग्मतीलाई साँच्चिकै अधिकार सम्पन्न बनाउने हो भने सम्बन्धित निकायहरु जिम्मेवार भएर काममा लाग्नु जरुरी छ।

‘अहिले ढल निकासका साथसाथै नदीको किनारमा सडक निर्माणको काम भइरहेको छ । त्यसले पनि गति लिन नसक्दा सर्वसाधारण सास्ती व्यहाृर्न बाध्य छन्।’

नदी तथा सडकसँग सम्बन्धित तस्बिरहरु

 

 

 

( नेपालतारा यस विषयमा निरन्तर लागिरहने छ । )