काठमाडौंः वाटफोर्डले इंग्लिस प्रिमियर लिग फुटबलको चालू सिजनमा पहिलो जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा रेलिगेसन जोनमा रहेको वाटफोर्डले नर्विच सिटीलाई उसकै मैदानमा २–० ले पराजित गर्दै पहिलो जित हात पारेको हो ।

वाटफोर्डका लागि जेरार्ड देउलोफ्यु र आन्द्रे ग्रेले एक एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा जेरार्ड देउलोफ्युले गोल गर्दै वाटफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा आन्द्रे ग्रेले गोल गर्दै वाटफोर्डलाई २–० ले विजयी गराए ।

६५औं मिनेटमा क्रिस्टियन कावासेले दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वाटफोर्ड १० खेलाडीमा समेटिएको थियो ।


जितसँगै वाटफोर्ड ८ अंक जोडेर तालिकाको १८औं स्थानमा उक्लिएको छ । नर्विच ७ अंकसहित पुछारमा छ ।


प्रकाशित मितिः शनिबार, कार्तिक २३, ०८:३५