काठमाडौंः वाम गठबन्धन सरकारका अर्थमन्त्री युवराज खतिवडाले अर्थतन्त्र अत्यन्तै खराब रहेको भन्दै श्वेतपत्र नै निकालेका बेला नेपालका १५ बैंकहरू १ अर्बभन्दा बडी नाफा कमाउन सफल भएका छन् । आर्थिक वर्ष २०७४–०७५ को ९ महिनाको अपरिष्कृत वित्तीय विरण अनुसार २८ वाणिज्य बैंकमध्ये १५ बैंकको नाफा १ अर्बभन्दा माथि पुगेको हो।

लामो समय खराब वित्तीय अवस्थामा रहेको राष्ट्रिय वाणिज्य बैंक लगातार सुधार हुँदै चालु आवको यो अवधिमा सर्वाधिक नाफा कमाउने अवस्थामा पुगेको छ । यस आवको तेस्रो त्रैमासिकमा राष्ट्रिय वाणिज्य बैंक ३ अर्ब ८ करोड नाफा कमाउन सफल भएको छ।

नौ महिनाको वित्तीय विवरण अनुसार राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट, नबिल, नेपाल, एभरेस्ट, कृषि विकास, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड, ग्लोबल आइएमई, एनएमबी, नेपाल एसबिआई, प्राइम कमर्सियल, सिद्धार्थ, सानिमा र सिटिजन्स बैंकले अर्बभन्दा बढी नाफा कमाएका छन्।


। वाणिज्य बैंकहरूले पुरानो ऋण असुली, ब्याज आम्दानी र विदेशी मुद्रा कारोबारबाट यस्तो नाफा प्राप्त गर्न सफल भएका हुन्। यो आर्थिक वर्षमा लगानीको वातावरणमा सुधार आएको र कर्जाको माग पनि बढेकाले नाफा बढ्न गएको बैंक सञ्चालकहरूको भनाइ छ।

यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकपछि दोस्रो नाफा कमाउने बैंकमा नेपाल इन्भेस्टमेन्ट बैंक परेको छ । यो बैंकले आर्थिक वर्षको नौ महिनामा २ अर्ब ८२ करोड नाफा आर्जन गर्न सफल भएको छ । नबिल बैंक तेस्रो स्थानमा छ भने चौथोमा सरकारको स्वामित्वमा रहेको बैंक नेपाल बैंक लिमिटेड परेको छ । एभरेस्ट बैंक पाँचौं स्थानमा छ ।

अर्ब नै नाफा कमाउन नसके पनि सनराइज बैंक, बैंक अफ काठमाण्डू एनआईसी एसिया त्यसको नजिक पुगेको विवरणमा उल्लेख छ ।

बैंकहरुले आकारका हिसाबमा राम्रै नाफा कमाएको भए पनि चुक्ता पुँजीको आकारसमेत बढेकाले तिनका लगानीकर्ताले पाउने प्रतिफलमा भने त्यति ठूलो अन्तर नआउने बैंकरहरूले बताएका छन्। ‘समग्रमा नाफा बढेको देखिए पनि सेयरहोल्डरले पाउने प्रतिफल भने १५–२० प्रतिशतभन्दा माथि नजाने उनीहरूले बताएका छन् ।

यो आर्थिक वर्षमा बैंकहरूले तरलताको अभाव खेपेकाले अपेक्षित नाफा पाउन सकेनन् तर पनि उनीहरू विभिन्न क्षेत्रमा गरेको लगानीबाट प्राप्त भएको व्याजबाट यस्तो नाफा गर्न सफल भएको सञ्चालकहरूले बताएका छन् । अब लगानीको वातावरणमा सुधार हुँदै गएकाले आगामी समयमा बैंकहरूको नाफा बढ्ने आशा गरेको उनीहरूले भनाइ छ । बैंकहरूले यस्तो नाफा कमाए पनि उत्पादन क्षेत्रतर्फको लगानी भने बढ्न सकेको छैन ।