काठमाडौंः नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बन्न लागेको ‘नेकपा कम्युनिष्ट पार्टी’ को घोषणा प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृहबाट हुने भएको छ ।

दुई पार्टीको संयुक्त केन्द्रीय समितिको बैठक बसेर बिहीबार नै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने र पार्टी एकता भएको घोषणा राष्ट्रिय सभागृहबाट पत्रकार सम्मेलन गरेर सार्वजनीक गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए।

आज साँझसम्ममा हुने पार्टी एकता घोषणा प्रक्रियालाई अन्तिम रुप दिन अहिले दुई पार्टीका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।


एकीकृत केन्द्रीय कमिटीको सदस्य संख्या

एमालेबाट २४१ जना र माओवादी केन्द्रबाट २०० जना गरी एकीकृत पार्टीको केन्द्रीय कमिटी ४४१ सदस्यीय हुनेछ । कार्यदलले भने २९९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको थियो ।

स्थायी कमिटी

स्थायी कमिटीमा एमालेबाट २६ र माओवादी केन्द्रबाट १९ जना गरी ४५ सदस्यीय हुने बताइएको छ ।

चुनाव चिह्न र निर्देशक सिद्धान्त ‘मार्स्वाद–लेलिनवाद’

एकतापछि पार्टीको चुनाव चिह्न सूर्य नै रहनेछ सहमति भएका बुझिएको छ । पार्टीको निर्देशक सिद्धान्तमा भने ‘मार्स्वाद–लेलिनवाद’ हुने सहमति भएको छ । राजनीतिक कार्यदिशा ‘समाजवादउन्मुख समावेशी लोकतन्त्र’ हुने जनाइएको छ ।