काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली लगायत उनको मन्त्रीमण्डलमा रहेका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

यसअघि गत आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारका सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

आज सार्वजनिक गरिएका मन्त्रीहरुको सम्पत्ति विवरण अनुसार सबैभन्दा धनी मन्त्रीमा रघुवीर महासेठ देखिएका छन् ।

कसको सम्पत्ति कति ?

प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री ओलीको नाममा एभरेस्ट बैंकमा ४२ लाख रकम मौज्दत रहेको देखिएको छ ।

तलबभत्ताबाट उक्त रकम प्राप्त भएको र अरु सम्पत्ति भने प्रधानमन्त्री पत्नी राधिका शाक्यको नाममा रहेको छ।


। उनको नाममा भक्तपुर सूर्यविनायकमा डेढ रोपनी, झापामा १० कट्ठा जमिन रहेको छ। त्यसैगरी सुनका गरगहनामा १७९१८ तोला रहेको उल्लेख गरिएको छ।

प्रधानमन्त्री पत्नीको नाममा राष्ट्रिय वचनपत्रमा २५ लाख कित्ता, माछापुच्छ्रे बैंक र प्रभु बैंकमा १० लाख मौज्दत रहेको उल्लेख छ।

गृहमन्त्री राम बहादुर थापा

गृहमन्त्री थापासँग बैंक जम्मा ५० हजार रुपैयाँ रहेको देखाइएको छ। गृहमन्त्री थापाको आफ्नो नाममा कुनै पनि जग्गा जमिन तथा सवारी साधन समेत नरहेको सम्पति विवरणमा उल्लेख छ तर रेस्टुरेन्टबाट आएको ३ लाख रुपैयाँ नगद भने खुलाइएको छ।

गृहमन्त्री थापाकी पत्नी नैनकला थापाको नाममा चितवनमा भने १ कठ्ठा ३ धुर जग्गा, चितवनकै भोजाङमा श्रीमती थापाको पेवाको रुपमा तीन कित्ता गरेर ४ सय ७४ वर्गमिटर जग्गा रहेको देखाइएको छ ।

गृहमन्त्री थापाले प्रयोग गर्ने बा ९ च ७४३२ नम्बरको गाडी समेत तत्कालीन नेकपा माओवादी केन्द्रको नाममा रहेको उललेख छ । गृहमन्त्री थापासँग साथमा ६ तोला सुन रहेको छ।

थापाकी पत्नीको नाममा अपर तामाकोसी हाइड्रोपावरको १४६ कित्ता शेयर रहेको छ। गृहमन्त्रीले पशुधनमा दुई वटा कुकुर समेत रहेको खुलाएका छन्।

रक्षामन्त्री इश्वर पोखरेल

पोखरेलले सबैजसो सम्पत्ती उनकी पत्नी मिरा पोखरेलको नाममा रहेको देखाएका छन् । रक्षामन्त्री ईश्वरको नाममा झापामा १० कट्ठ पैत्रिक सम्पत्ति र ७ लाख बैंक मौज्दतमात्र रहेको उल्लेख गरिएको छ।

श्रीमती मिराको नाममा काठमाडौंको टोखामा ३३ आनामा बनेको ३ तले घर, भक्तपुरको नगरकोटमा १ रोपनी ११ आना, धादिङ खानीखोलामा ४ रोपनी जग्गा मिराकै नाममा रहेको उल्लेख गरिएको छ। यता सुनचाँदीमा ९ तोला सुन र २५ तोला चाँदी उल्लेख गरिएको छ।

नेपाल राष्ट्र बैंकमा मिराको पेन्सन वचत रहेको छ भने एभरेस्ट बैंकमा १ लाख ४० हजार र सानिमा बैंकमा ५ लाख मौज्दत रहेको छ। उनकै नाममा कृषि विकास बैंक २००, मोडर्न कन्या मल्टिपल कलेजमा ५ हजार बरुण हाइड्रोमा १० हजार बराबरको सेयर रहेको बताइएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडा

मन्त्री खतिवडाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा श्रीमती कमला खतिवडा र उनको नाममा काठमाडौँ महानगरपालिका वडा नं ४ मा एक रोपनी ३ आना र भक्तपुर चाँगुनारायणमा एक रोपनी ८ आना जग्गा रहेको बताइएको छ ।

झापा गौरादहमा ४ रोपनी, झापा बुद्धशान्ति गाउँपालिकामा १० आना र काठमाडौं कागेश्वरीमै ४ रोपनी एक आना दुई दाम जग्गा देखाइएको छ ।

अर्थमन्त्रीसँग १० तोला सुन, एक केजी चाँदीका गरगहना र एक करोड नगद रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

ज्ञवालीको नाममा एभरेष्ट बैंकमा ३ लाख ५७ हजार २ सय ८३ रुपैयाँ बचत देखिएको छ कृषि विकास बैंकमा २ हजार रुपैयाँ रहेको छ ।

उनकी पत्नी सरस्वती ज्ञवाली अर्यालको नाममा काठमाडौं–३१ मा ४ आना २ पैसा ३ दामको जग्गामा दुई तले घर रहेको छ । साथै २ तोला जति सुन रहेको उल्लेख छ ।

संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डित

लालबाबु पण्डितको नाममा विराटनगर १२ मा एक कठ्ठामा बनेको ५ कोठे घर रहेको उल्लेख छ । ललितपुर भैसेपाटीमा पत्नी विमला तामाङको नाममा ४ आना जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् ।

उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ भने बैंकमा पण्डितको नाममा २५ लाख र बिमलाको नाममा ३० लाख बचत रहेको छ ।

सवारी साधनका नाममा एक थान पुरानो साइकल मात्र रहेको उल्लेख गरिएको छ ।

भौतीक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ

मन्त्री रघुवीर महासेठका तीनवटा घर, सात ठाउँमा जग्गा, ५२ तोला सुन, २७ तोला पैतृक र २५ तोला दाइजोबापत प्राप्त भएको सम्पति रहेको उल्लेख छ ।

त्यसैगरी उनीको नाममा ५ वटा विभिन्न कम्पनीमा करोडौंको सेयर लगानी रहेको विवरण पनि सार्वजनिक गरिएको छ ।

उर्जामन्त्री वर्षमान पुन

वर्षमान पुन र पत्नी ओनसरी घर्तीको नाममा घरजग्गा छैन । उनको सम्पति विवरणमा बाबु र आमाको नाममा रोल्पा र दाङमा रहेको घरजग्गा रहेको छ ।

१५ तोला सुन, चाँदी र ७ लाख नगद परिवारको सगोलमा देखिएको छभने आफ्नो नाममा एभरेष्ट बैंकमा ३ लाख ५० हजार नगद मौज्दात देखिएको छ ।

कानुनमन्त्री शेरबहादुर तामाङ
तामाङले कृषि विकास बैंक र अन्यबाट उनले ७० लाख रुपैयाँ ऋण र सिन्धुपाल्चोकमा ८ विगाहा बढी जग्गा छ । सम्पत्ति विवरणमा मन्त्री तामाङले श्रीमतीको नाममा धेरै जग्गा रहेको खुलाएका छन् ।
काठमाडौंमा उनको नाममा ६ आना जमिन छ । उनको नाममा एभरेष्टमा बैंकमा १ लाख २८ हजार ९ सय ४२ रुपैया मौज्दात छ । विभिन्न कम्पनीहरुमा १५ लाख बराबरको शेयर छ । उनले आफ्नो नाममा ३० तोला सुन रहेको विवरण बुझाएका छन् ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (जेबी)

मन्त्री जगत बहादुर सुनारले सार्वजनिक गरेको सम्पति विवरणमा २० लाख बैंक ब्यालेन्स र ५० तोला सुन रहेको उल्लेख गरेका छन्।

आफ्नो नाममा नविल बैंकमा रहेको १३ लाख पारिवारिक आम्दानी बचत रहेको तथा अन्जु कुमार विश्वकर्माको नामम सोही बैंकमा रहेको रकम तलव, पेवा र सहयोगबाट आएको उल्लेख गरेका छन्। उनले हुम बहादुर बडालाई २०७४ साल चैतमा ५ लाख ऋण दिएको विवरण दिएका छन्। यस्तै गरगहनामा २०५७ सालदेखी अहिलेसम्म गरेर करिब ५० तोला सुन रहेको उल्लेख छ।

सुनारले आफ्नो सम्पतीमा कास्कीको लेखनाथ महानगरपालिका वडा नम्बर १९ मा २०३६ साल देखि बसोबास गर्दै आएको २९१३९०९२ क्षेत्रफलमा रहेको उक्त घर डिल बहादुर सुनारको नाममा रहेको उल्लेख गरेका छन् ।

खानेपानीमन्त्री विना मगर

विना मगरको सम्पत्ति विवरणमा ५ तोला सुन र १६ तोला चाँदी जुन पैतृक सम्पत्ति भनेर उल्लेख गरिएको छ ।

मन्त्री मगरले सम्पत्ति विवरणमा चितवन भरतपुरमा श्रीमान प्रकाश दाहालको नाममा रहेको २ कठ्ठा जग्गा र सासु सीता दाहालको नाममा रहेको १ कठ्ठा जग्गा पनि उल्लेख गरेकी छन् ।

मन्त्री मगरसँग एभरेष्ट बैंकमा खाता रहे पनि एक रुपैयाँ पनि नगद नभएको विवरण उल्लेख छ । श्रीमान प्रकाश दाहालको नाममा रहेको एउटा स्कुटर रहेको छ ।