काठमाण्डौं: राष्ट्रिय युवा  परिषदद्वारा आज शुक्रबार देखि ‘प्रथम विज्ञान, सूचना तथा प्रविधि युवा सम्मेलन–२०७५’ आयोजना गरेको छ । परिषद्ले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अबको १० वर्षमा विज्ञान र प्रविधि क्षेत्रमा लगानी र त्यसबाट आउनसक्ने परिमाणका बारेमा छलफल गर्न उक्त कार्यक्रम आयोजना गरेको हो ।

ललितपुरस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा तीन दिनसम्म चल्ने उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । सम्मेलनमा देशभरिका ४०० युवा, अनुसन्धानकर्ता, वैज्ञानिक, नीति निर्माण र विज्ञानसँग सरोकार राख्नेहरुको  सहभागिता रहेको छ ।


उक्त सम्मेलनमा प्राकृतिक, विज्ञान, चिकित्सा र आयुर्वेद विज्ञान, इन्जिनियरिङ, जैविक विज्ञान, भूगर्भ, वातावरण र मौसम, परम्परागत प्रविधि, कृषि तथा वनविज्ञान, सूचना-सञ्चार तथा प्रविधि, खगोल तथा अन्तरिक्ष, विकीकरण तथा ऊर्जालगायत १२ वटा विषयमा सम्बन्धित विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । सरकारद्वारा आयोजित यस कार्यक्रममा विज्ञान तथा प्रविधिको रणनीति बनाउन युवा तथा विज्ञहरुलाई सामिल गरेकोमा सहभागी युवाहरु उत्साहित भएका छन् । युवाहरुद्वारा यस सम्मेलनलाई स्वागतयोग्य भएको बताएका छन् ।

धनकुटाका एक युवाले आफै फोन गर्ने सूचना यन्त्र आविष्कार गरेका छन् । उनले सुरक्षा सतर्कता अपनाउन उपयोगी फरक प्रकारका सूचना यन्त्र आविष्कार गरेका छन् । यस्तै रुकुम पश्चिमका एक विद्यार्थीले घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार गरेका छन् । दोलखामा जन्मिएका रामु खत्रीले सानै उमेरमा विभिन्न प्रविधि उत्पादन तथा आविष्कार गरेका छन् ।  साथ र सहयोग पाए नेपालमै हवाईजहाज बनाउन सक्ने उनको दाबी छ । बागलुङका कुशल केसीले सोलार कार तथा हेलिकप्टर बनाएका छन् । यस्ता विभिन्न क्रियाशील युवा जनशक्तिहरु अवसरको कमिले अघि बढ्न सकेका छैनन् । सरकारले उचित व्यवस्था र अवसर सिर्जना गर्नसके यी युवाहरुले देशलाई विश्वसामु चिनाउनुका साथसाथै देशको आर्थिक विकासमा समेत भूमिका निर्वाह गर्ने छन् । देशमा मात्र होइन, विदेशमा गएर नेपालीहरु विशिष्ट वैज्ञानिक भएको प्रसस्त उधाहरणहरु छन् । यी जनशक्तिले स्वदेशमै अवसर पाएका भए आज देशको अवस्था अर्कै हुन्थ्यो । यसरी सरकारले युवा तथा विज्ञलाई सामिल गरी देशको भावी रणनीति बनाउनु निकै नै स्वागतयोग्य कदम हो । यसले विधार्थी तथा युवालाई हौसला तथा प्रोत्साहन गर्न मद्धत पुर्याउछ ।

उक्त सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक विज्ञान प्रविधिलाई अधिकतम उपयोग गरी मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाइने बताएका  छन् । प्रधानमन्त्री ओलीले उपलब्ध प्राकृतिक स्रोत, साधनलाई वैज्ञानिक तवरले समृद्धिसँग जोडिनुपर्ने बताए । “हामीसँग प्राकृतिक स्रोत, साधन र खनिजयुक्त सम्भावना छ, एउटै कुरा मात्रै आवश्यक छ, आत्मविश्वास र प्रतिबद्धता हामी गर्न सक्छौँ र गर्छौं भन्ने भावना युवा वैज्ञानिकमा हुनुपर्छ त्यति भएपछि हाम्रो विकासलाई कसैले रोक्न सक्दैन । युवा पलायन रोक्न र रोजगार सिर्जना गर्नेतर्फ सरकार गच्छेअनुसार सहयोग गर्न तयार छ । यसका लागि युवा वैज्ञानिक पनि प्रतिबद्धताका साथ लाग्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने ।

विज्ञान र प्रविधि हरेक क्षेत्रको विकास तथा उत्पादन र उत्पादकत्व वृद्धिका लागि महत्वपूर्ण छ भन्दै उहाँले कृषिको वैज्ञानिकीकरण, खनिजजन्य वस्तुको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरे। उनले  सम्मेलनबाट आएको निष्कर्षलाई मुलुकको समृद्धिसँग जोडेर प्रभावकारी कार्यान्वयनमा ल्याइने प्रतिबद्धतासमेत व्यक्त गरे ।

वर्तमान समयमा नेपालमा समेत विज्ञान तथा प्रविधिको क्षेत्रमा अधिक संख्यामा गुणस्तरीय जनशक्ति उत्पादन हुन सुरुभएको छ । चिकित्साशास्त्र, ईञ्जिनियरिङ्ग तथा सूचना प्रविधि विषयमा नेपालमा अन्तराष्ट्रिय स्तरकै प्रतिष्ठित अध्ययन संस्थानहरुले गुणस्तरीय शिक्षा दिँदै जनशक्ति उत्पादन गर्दै आएको छ । यस्ता सम्मेलनले उक्त जनशक्तिलाई प्रोत्साहन गर्नुका साथसाथै स्वदेशमै विज्ञान तथा प्रविधिको माध्यमबाट रोजगारको अवसर सिर्जना तथा देशको आर्थिक क्षेत्रको विकासमा ठूलो भूमिका निर्वाह गर्नेछ ।

मयाङ्क घिमिरे