गोरखाः केही दिनअघि पोखरामा क्याम्पस भर्ना भएर गोरखामा धर्मप्रचार गर्दै बसेका चार जना जापनिज नागरिकलाई जिल्लाबाट फिर्ता पठाएको जिल्ला प्रशासन कार्यालयले ८ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पर्यटक भिजामा आएकाहरु काम गरिरहेका भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

विदेशी नागरिक एउटा प्रयोजनमा कागजात बनाएर नेपाल भित्रने र अर्कै काम गर्ने गरेपछि निगरानी बढाइरहेका बेला आरुघाट गाउँपालि–३ सोतीबाट उनीहरुलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

नौलो नेपाल हाईड्रोपावर कम्पनी अन्र्तगत अपरबुढीगण्डकी जलविद्यूत आयोजनामा काम गरिरहेका चिनियाँ नागरिक पक्राउ परेका हुन् ।


। पक्राउ पर्नेमा ट्याङ गुवागलिन, ट्याङ डाक्वीङ, ट्याङ जुन, ट्याङ जियानहुवा, ट्याङ युजेन, साङ चुन, याङ जियाचुन र लिङ्घु केशेङ रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर सोमबार साँझ गोरखादेखि अध्यागमन पठाइएको प्रजिअ पौडेलले बताए ।

उक्त हाईड्रोपावरमा १५ भन्दा बढि चिनियाँ नागरिक काम गर्दै आएका थिए । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले गोरखा रहेर काम गर्ने आधिकारिक कागजात बुझाउन भनेको थियो । लामो समयसम्म चिनियाँ नागरिकले कागजात बुझाउन नसकेपछि केही काम छाडेर भागेका थिए भने बाँकी ८ जनालाई सोमबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।


प्रकाशित मितिः मंगलबार, फागुन २०, ०७:२२