थाइल्याण्डको एक गुफामा थुनिएका १२ जना फुटबल खेलाडी र प्रशिक्षकलाई उद्धार गर्न गएको थाइल्याण्डको जलसेनाका एक अधिकारीको ज्यान गएको छ।

बाढीबाट प्रभावित बनेको गुफामा थुनिएका उनीहरुको उद्धारका लागि खटिएका समलमान गुनान नाम गरेका अधिकारीको ज्यान गएको हो।

थामलुङ गुफामा फेसेका १३ जनाका लागि अक्सिजन पुर्‍याएर फर्किने क्रममा उनी बेहोस भएका थिए। ‘उनको काम अक्सिजन पुर्‍याउनु थियो। उनी फर्किन सकेनन्,’ एक अधिकारीले भने, ‘डुबेका उनलाई बाहिर निकालियो तर जीवित राख्न सकिएन।ु

उनले जलसेनाबाट अवकाश लिइसकेका थिए। तर बालकहरुको उद्धार कार्यमा सहयोग गर्न आएका थिए। धावक तथा साइक्लिस्ट गुनन उद्धार अभियानका एक हिस्सा थिए।


‘गुफाभित्र एक दम गाह्रो हुन्छ। गुफामा अक्सिजन बोटलहरु पुर्‍याएर फर्किने क्रममा उनको मृत्यु भयो,’ थाई सिल कमान्डर रेयर एडम अर्पाकोर्नले भने, ‘उनलाई प्राथमिक उपचार दिइयो तर कुनै प्रतिक्रिया दिएनन्। उनलाई च्याम्बर ३ मा ल्याएर पुनः प्राथमिक उपचार दिइयो। तर कुनै पनि प्रतिक्रिया दिएनन् हामीले उनलाई अस्पताल पुर्‍यायौं।’

उनको निधनपछि पनि उद्धार अभियान जारी रहने उनले जानकारी दिए। ‘म विश्वास दिलाउन चाहन्छु कि उद्धार अभियान रोकिने छैन। हामी निरास हुने छैनौं। हाम्रा साथीको त्यागलाई हामीले खेर जान दिने छैनौं,’ उनले भने।

उद्धार अभियानमा थाइल्याण्डसहित, चीन, बेलायत, अमेरिका अष्ट्रेलियालगायतका देशबाट गोताखोर, सैनिक, प्रहरी तथा सर्वसाधरण गरी १००० उद्धारकर्मीहरु खटिएका छन्।

गुननको मृत्युले उद्धार अभियानको चुनौति थप बढाएको छ। बीबीसी