काठमाडौंः विद्युत चोरीका संलग्न दुई वडाध्यक्षहरु पक्राउ परेका छन् ।

चोरी नियन्त्रणका लागि खटिएको नेपाल विद्युत प्राधिकरणको टोलीले काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर-७का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर-५का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरेको हो ।

गृह मन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुन, गृह सचिव प्रेमकुमार राई, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल लगायतको बुधबारको बैठकले विद्युत चोरी नियन्त्रणलाई परिणाममूखीरुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो ।


सुरक्षाकर्मीसहित खटिएको प्राधिकरण काभ्रे बितरण केन्द्रको टोलीले वडाध्यक्ष लम्सालले कुन्ताबेंसीमा हुकिङ गरी कुखुरा फर्ममा विद्युत प्रयोग गरेको फेला पारेपछि पक्राउ गरेको थियो । पक्राउ गरी लम्साललाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको थियो । उनी ४१ हजार २ सय ८७ रुपैयाँ जरिवाना तिरी शुक्रबार रिहा भएका छन् ।

यसैगरि,राजविराज बितरण केन्द्रको टोलीले तिरहुत गाउँपालिका–५का वडाध्यक्ष रामानन्द चौधरीले हुकिङ गरी घरमा विद्युत प्रयोग गरेको फेला पारेको थियो । टोलीले वडाध्यक्ष सहित हुकिङ गर्ने २१ जनालाई पक्राउ गरेको थियो । वडाध्यक्ष चौधरी १५ हजार जरिवाना तिरी शुक्रबार छुटेका छन् ।