काठमाडौंः काठमाडौंको प्रदर्शनीमार्गबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका १५ नेता/कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो प्रदर्शनीमार्गमा विप्लव समूह निकट विद्यार्थी अखिल क्रान्तिकारीको आयोजनामा सीमा अतिक्रमणविरुद्ध गरिएको प्रदर्शनमा कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी नेकपाका पूर्व केन्द्रीय सदस्य मकर गुरुङसहित १५ नेता/कार्यकर्तालाई पक्राउ गरेको हो ।

कालापानी, लिपुलेकलगायतका भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा प्रदर्शनको तयारी भइरहेको बेला प्रहरीले उनीहरुलाई पक्रेको हो । पक्राउ परेकाहरुलाई भ्यानमा राखेर पुलिस क्लबमा लगिएको छ।


सरकारले गत वर्ष फागुनमा विप्लव समूहका गतिविधिमा प्रतिबन्ध लगाएको थियो । त्यसयता उक्त समूहका सयौं नेता/कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।


प्रकाशित मितिः आइतबार, पुस १३, १४:३०