धनगढीः नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण प्रदेश नम्बर सात प्रभावित भएको छ ।

प्रदेश नम्बर सातको अस्थायी राजधानी धनगढी बजार बन्द रहेको छ भने छिटफुट रुपमा केही पसलहरु खुलेपनि अधिकांश पसल बन्द रहेका छन् । मोटरसाईकल र ट्याम्पो, ट्याक्सी र निजी सवारी साधनहरु चलेपनि सार्वजनिक यातायात ठप्प छन् ।

आज धनगढीबाट लामो तथा छोटो दूरीका बस तथा माइक्रोबास सेवा चलेका छैनन् । बन्दको प्रभाव कञ्चनपुर र पहाडी जिल्ला डडेल्धुरा, डोटी, बैतडी, अछाम, दार्चुला लगायतका पहाडी जिल्लाहरुमा समेत परेको छ ।

बन्दको पूर्व सन्ध्यामा शनिबार प्रहरीले धनगढीबाट एक जना बिप्लवका कार्यकर्ता पक्राउ गरेको छ ।


विप्लवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनका क्रममा नेपाली स्वाभिमानमाथि ठेस पुग्ने गरी सरकारले काम गरेको भन्दै बन्द आह्वान गरेको हो ।