काठमाडौंः प्रहरीले विभिन्न ठाउँबाट अवैध लागूऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ३ किलो ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित धादिङ गजुरी गाउँपालिका–८ बस्ने २८ वर्षीय दिपक अधिकारीलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

नागढुंगास्थित चेकप्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ९०६४ नम्बरको हाईस गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार दिपकलाई २ वटा झोलामा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, ललितपुर महानगरपालिका–५ पाटन अस्पताल अगाडि सडक किनारबाट नियन्त्रित लागूऔषध ३ सय एम्पुल डाईजेपाम, ३ सय एम्पुल बुप्रेनोर्फिन र ३ सय एम्पुल फेनारगन सहित भारत बिहार ठेगाना भएका २३ वर्षीय जमाल आलमलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।


लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, ललितपुर महानगरपालिका–११ बंगलामुखी मन्दिर अगाडि सडक किनारबाट नियन्त्रित लागूऔषध ९० एम्पुल डाईजेपाम, ९० एम्पुल बुप्रेनोर्फिन र ९० एम्पुल फेनारगन सहित सोही महानगरपालिका–२० बस्ने ३५ वर्षीय सुरेश खड्कीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–६ छिप्रीदह बजारस्थित न्यू पोख्रेली होटेलबाट १३ केजी अवैध लागूऔषध अफिम सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका–४ बस्ने ५८ वर्षीय मन्सराम खत्री र भुमे गाउँपालिका–३ झुम्लाबाङ बस्ने ३४ वर्षीय तारा प्रसाद श्रेष्ठ रहेका छन् ।

होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) बाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध, १ थान टेप र १ थान झोला सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १५ गते बुधबार, २०:१८