काठमाडौंः प्रहरीले विभिन्न ठाउँबाट अवैध लागूऔषध सहित पाँच् जनालाई पक्राउ गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ चार बाहिनी रोडटोलबाट १ ग्राम ८ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २७ वर्षीय सुमन बटाला, २८ वर्षीय गणेश सुनार र २९ वर्षीय गंगे सुनार रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रदेश ब्यूरोबाट खटिएको प्रहरीले सुमन बटालाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै, काभ्रेको रोशी गाउँपालिका–९ स्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ८ सय ४० ट्याब्लेट सहित चौरीदेउराली गाउँपालिका–३ बस्ने १९ वर्षीय शम्सेर घिसिङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ५ ख ३५८ नम्बरको हाईस गाडीलाई इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

साथै सोही कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बा ५ ख ७११६ नम्बरको हाईस गाडीमा आएका सुनसरी धरान उपमहानगरपालिका–६ बस्ने २७ वर्षीय अजित कामतलाई नियन्त्रित लागूऔषध डाईजेपाम १० एम्पुल, बुप्रिनुर्फिन १० एम्पुल र फेनारगन १० एम्पुल सहित सोमबार दिउँसो पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १४ गते बुधबार, १३:२१