काठमाडौंः प्रहरीले विभिन्न ठाउँबाट अवैध लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट करिब १ किलो अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ सहित बारा जितपुर सिमरा उपमहानगरपालिका–९ बस्ने १९ वर्षीय अनुज चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ख ९१८१ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार चौधरीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका–२९ मुसौलीस्थित सडकबाट करिब ५ सय ६० ग्राम अवैध लागूऔषध चरेश सहित पटेर्वासुगौली गाउँपालिका–३ बस्ने २८ वर्षीय जादु साह सोनारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीलाई देख्ने बित्तिकै मोटरसाइकल घुमाई भाग्न खोजेपश्चात मोटरसाइकलमा आएका सोनारलाई नियन्त्रणमा लिई जाँच गर्ने क्रममा उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको हो ।

फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी, झापाको भद्रपुर नगरपालिका–५ नरसिंह बगानबाट नियन्त्रित लागूऔषध १८ एम्पुल डाइजेपाम, १८ एम्पुल बुप्रिनोर्फिन र १८ एम्पुल फेनारागन सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक नगरपालिका–१२ बस्ने २६ वर्षीय बिकास परियार र सोही ठाउँ बस्ने २८ वर्षीय शरण राई रहेका छन् ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २२ गते बिहीबार, १२:२२