काठमाडौंः प्रहरीले विभिन्न ठाउँबाट अवैध लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउसस्थित सडकबाट नियन्त्रित लागूऔषध ५० एम्पुल डाइजेपाम, ४८ एम्पुल फेनारगन र ५० एम्पुल नुर्फिन सहित एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका–१३ सिस्नेपानी बस्ने २२ वर्षीय बिदुर नेपाली रहेका छन् ।

भैरहवाबाट पोखरातर्फ आउँदै गरेका सवारी साधनहरु जाँच गर्नेक्रममा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

उनी माथि लागूऔषध सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालत मार्फत २० दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


यस्तै, झापाको दमक नगरपालिका–६ नमुना मार्गबाट २९ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित भारत घर भएका २६ वर्षीय सिद्धिक आलम भन्ने व्यक्तिलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, नवलपरासी (पूर्व) को गैंडाकोट नगरपालिका–१० टोलटोले बस्ने २२ वर्षीय बादल गुरुङलाई नियन्त्रित लागूऔषध ३ सय ४५ ट्याब्लेट फेनारगन र ३ सय ४५ ट्याब्लेट ट्रामा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बादलले लागूऔषधको विक्री गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ६ गते सोमबार, १८:०६