काठमाडौंः प्रहरीले विभिन्न ठाउँबाट अवैध लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

रौतहटको माधव नारायण नगरपालिका–१ दिपही बस्ने ६० वर्षीय जोखु राय यादवलाई ४ केजी अवैध लागूऔषध गाँजा सहित आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको प्रहरीले साइकलमा जाँदै गरेका यादवलाई बोरामा ल्याई रहेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका–१६ ईनर्वा गाउँबाट नियन्त्रित लागूऔषध नुर्फिन, फेनारागन र डाईजेपाम ७० एम्पुल सहित वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ३४ वर्षीय शेख मेहतालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।


अस्थाई प्रहरी पोष्ट ईनर्वा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी, मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीस्थित सडकबाट करिब १० केजी अवैध लागूऔषध गाँजा आज बिहान प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ ना १३ प १५११ नम्बरको मोटरसाइकल छाडेर चालक भागेपछि जाँच गर्दा जेब्रा झोलामा उक्त लागूऔषध गाँजा फेला पारी मोटरसाइकल र गाँजा प्रहरीले बरामद गरेको हो ।

फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १० बुधबार, २०:१७