काठमाडौंः प्रहरीले विभिन्न ठाउँबाट अवैध लागुऔषध सहित १४ जनालाई पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट करिब ३ ग्राम २ सय मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर सहित डोटीको बडिकेदार गाउँपालिका–१ बस्ने २८ वर्षीय बसन्त मौनीलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ ।

यस्तै, बर्दियाको गुलरिया नगरपालिका–१२ स्थित मनैया सामुदायिक वनबाट प्रहरीले करिब ४ सय ९० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित २ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका सुर्जगौडी गाउँ बस्ने १९ वर्षीय राकेश श्रीबास्तव र ३० वर्षीय नुरुदिन गड्डी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट भे ६ प १८१७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

यसैगरी, प्रहरीले दाङको घोराही उपमहानगरपालिका–१३ बस्ने २० वर्षीय अरुन पुन मगर समेत ४ जनालाई करिब ८ सय मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित मंगलबार साँझ पक्राउ गरेको छ । उनीहरूले लागुऔषध बेचविखन गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरुको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

साथै दाङकै घोराही उपमहानगरपालिका–१७ कर्जाही क्वाडीबाट २ सय ७० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित प्रहरीले सोही ठाउँ बस्ने २४ वर्षीय रन्जित भण्डारीलाई मंगलबार राति पक्राउ गरेको छ । भण्डारीले उक्त स्थानमा लागुऔषध बेचविखन गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी, बाँकेको कोहलपुर नगरपालिका–८ बाबानगरस्थित पालगंजबाट प्रहरीले करिब ५ ग्राम ५ सय मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित सोही नगरपालिका–५ एनसीसीएन बस्ने २८ वर्षीय निर्मल सिंह ठकुरीलाई मंगलबार साँझ पक्राउ गरेको छ । भे ११ प ७८१८ नम्बरको स्कुटरलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा आएका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

साथै बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट प्रहरीले करिब ८ ग्राम ५ सय मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित कोहलपुर नगरपालिका–१० बस्ने २९ वर्षीय दिपेश परियार र सोही नगरपालिका-७ बस्ने २९ वर्षीय नारायण बुढाथापालाई मंगलबार दिउँसो पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको भे ३ प २७६२ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

त्यस्तै, धनकुटाको साँगुरीगढी गाउँपालिका–६ फेदीबाट करिब ५ किलोग्राम अवैध लागुऔषध गाँजा सहित प्रहरीले शहिदभूमि गाउँपालिका–७ बस्ने २६ वर्षीय प्रदिप राई र १७ वर्षीय किशोरलाई मंगलबार दिउँसो पक्राउ गरेको छ । को ३९ प ६५६७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा आएका उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

इस्तै, झापाको अर्जुनधारा नगरपालिका–११ बुट्टाबारीबाट करिब १ ग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित प्रहरीले सोही ठाउँ डेरा गरी बस्ने २५ वर्षीया आइसा गिरीलाई मंगलबार साँझ पक्राउ गरेको छ । आइसाको डेरामा लागुऔषध राखेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मितिः २०७९ साल श्रावण १८ गते बुधबार, १०:५९